हेलम्बुमा विश्व सुन्दरी टोनी, पर्यटन क्षेत्र फष्टाउने अध्यक्ष शेर्पाको विश्वास

सिन्धुपाल्चोक — मिस वर्ल्ड टोनी एन सिंहले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिन ‘हिमालयन ग्रेट ट्रेल’ को अवलोकन गरेकी छिन् ।

हेलम्बुको हिमाली क्षेत्र घोप्टेघ्याङमा निर्माणाधीन ६० किलोमिटर ग्रेट ट्रेलको छेउमा विश्व सुन्दरी सिंह पुगेलगत्तै उनलाई हेर्ने र सेल्फी खिच्नेको लर्को लागेको थियो । विश्वकै अग्लो चीनको ग्रेटवालको अनुसरण गरेर बौद्ध परम्पराको धर्मचक्र पर्खालअनुरूप सम्भवतः विश्वकै दोस्रो ग्रेटवाल गुरु रेन्पोछे ‘हिमालयन ग्रेट ट्रेल’ मा पुगेर उनले वरिपरिको दृश्य ध्यानपूर्वक हेरिन् । ग्रेट ट्रेलको १ सय १० मिटरको संरचना हेरेपछि उनले हृयोल्मो बौद्धधर्म परम्पराअनुसार रेन्पोछे र गुरुहरूबाट अभिषेक छेजु आशिष लिइन् ।

विश्व सुन्दरी टोनीले हिमाली गाउँ सुरर्सिङको स्थानीयको घरमा ह्योल्मो परिकार चिया, ढिँडो र साग खाइन् ।

मिस नेपाल अनुष्काले हेलम्बु—७ इचोकको सुरर्सिङमा चलाएको परियोजना हेरेर उनले तानमै बसेर गलैँचा बुन्न सिकाइरहँदा स्थानीय झनै दंग देखिए । नेपाल सुन्दरी श्रेष्ठको परियोजना अन्तर्गतको बौद्धधर्ममा अपरिहार्य मानिने धुप उत्पादन गर्ने मेसिन र गलैँचा बुन्ने तान अवलोकन गरेपछि अतिथिलाई बिदा गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । विश्व सुन्दरी टोनीको हेलम्बु भ्रमणले हेलम्बुको पर्यटन क्षेत्र फष्टाउने अध्यक्ष शेर्पाले विश्वास व्यक्त गरे ।

हेलम्बुलाई पर्यटनमा अब्बल बनाउन ठडिएको ह्योल्मो धर्मचक्र पर्खालअनुसारको ‘हिमालयन ग्रेट ट्रेल’ लाई सय मिटर बनाउने पूर्व मिस नेपाल शृंखलाले प्रतिबद्धता व्यक्त गरेकी छिन् । टोनीले हेलम्बु–७ स्थित सुरर्सिङको आयमूलक कार्यक्रम ‘ब्युटी प्रपोज’ का लागि २० हजार डलर सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्