भ्रष्टाचार गर्नमा नातेदारको भुमिका के ?

चक्रप्रसाद पन्त, कञ्चनपुर

भ्रष्टाचार बढाउन परिवारका सदस्य, नातेदार तथा अन्य ईष्टमित्रले के कति मात्रामा कसरी भुमिका खेलिरहेका छन् भन्ने बारेमा विस्तृत रूपमा सरकारी कार्यालय तथा बिभिन्न संस्थागत संघसंगठनमा अनुगमन र परिक्षण गरिनु सरकारको प्रमुख कर्तव्य रहन्छ । आजकल भ्रष्टाचार गर्ने तरिका पद्दति तथा दर र दायरा पनि परिवर्तन आएको कुरालाई मध्यनजर गर्दै छोराछोरी, भाइबुहारी, भतिजाभतिजी तथा भान्जा, भान्जीलाई नियुक्त गरी सचिवालयलाई आफन्त भर्ती केन्द्र बनाएको भनी बेला–बेलामा चर्चा हुने गर्दछ । तर नातेदारलाई सचिवालयमा नियुक्त गर्दा त्यसले के कस्तो प्रभाव तथा असर पार्छ भन्ने बारे विस्तृत अध्ययन भएको पाईदैन । राजनीतिक नेतृत्व वर्ग भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुनुमा नातेदार तथा परिवारको प्रमुख हात रहेको पाइन्छ । परिवार विश्वब्यापी सामाजिक संरचना हो । परिवारमा व्यक्तिको जिवनको प्रारम्भ हुन्छ, संगठित हुन्छ र सामाजिकीकरण प्रकियाको सुरुवात समेत हुन्छ ।

लरिसा लोमिनाजले विसौँ शताब्दीको मध्यतिर चिलीमा मध्यमवर्गीय ब्यक्तिहरुमा गरेको एक अध्ययनले राजनीतिक नेतृत्व वर्ग, कर्मचारी तथा अन्य सार्वजनिक पद धारण गर्ने अधिकारीहरुले आफ्नो परिवार, नातेदार तथा ईष्टमित्रहरुको अपेक्षा र चाहना पुरा गर्नका लागी भ्रष्टाचार गर्ने गरेको तथ्य भेटिएको थियो । अध्यायनमा भ्रष्टाचारमा संलग्न भएका अधिकारीहरुले आफ्ना श्रीमानश्रीमती, छोराछोरी तथा अन्य नातेदारका जायज तथा नाजायज अपेक्षा पुरा गर्नका लागि भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुनुपरेको बताएका छन् । अन्य देशको के कुरा गर्नु नेपालमा पनि अधिकांश ठुलाठुला भ्रष्टाचारका काण्डहरुमा जिम्मेवार अधिकारीका परिवारका सदस्यहरुको प्रमुख भुमिका रहेको स्पष्ट देख्न सकिन्छ ।
ईतिहास पल्टाउने हो भने राणाहरूले आफ्नो परिवार र नातेदारको चाहना र आवश्यकता अनि सुखसयल बढाउनका लागि भ्रष्टाचारजन्य क्रियाकलाप गरेका थिए । त्यस अगाडि माथवरसिंह थापाले आफ्ना काका भीमसेन थापाको शक्तिका आडमा व्यापक भ्रष्टाचार गरेका थिए । पञ्चायती कालमा पनि यस्तो ईतिहास दोहोरियो र गणतन्त्रात्मक व्यवस्था सम्म आईपुग्दा पनि यो समस्या ले छोडेन । भ्रष्टाचारमा नातेदारको भुमिकामा हुनसक्ने तिनवटा धार देखिन्छन ।

पहिलो :– अदृश्य धार
यसमा राजनीतिक नेता तथा पदाधिकारीहरुका परिवारका सदस्य तथा नातेदारहरले आफन्तलाई पद र शक्तिको दुरुपयोग गरेरै भएपनि पैसा कमाउने र आफ्नो आर्थिक उन्नतिको लागि दबाब दिने गर्दछन् तर यिनीहरू सार्वजनिक रुपमा देखिदैन । यस धारमा परिवारका सदस्यहरु आफै कुनै सार्वजनिक पदमा नियुक्त लिदैनन । राजनीतिक व्याक्तिको पछाडी बसेर उनिहरुलाई आर्थिक उपार्जनका लागी दबाब दिने वा प्रेरित गर्ने गर्छन । यसमा राजनीतिक भ्रष्टाचारका लागि महत्वपूर्ण भूमिका रहेपनि वर्तमान कानुनी दृष्टिकोणबाट हेर्दा त्यसलाई नियन्त्रणको दायरा भित्र समेट्न सक्दैन । किनकी यो अदृश्य हुन्छ । धेरैजसो उच्च अधिकारीहरुका श्रीमती तथा छोराछोरीले यस किसिमले भुमिका खेलेको पाइन्छ ।

दोस्रो :– अर्धदृश्य धार
यस किसिमको नियुक्ति पाएका सचिवालय सदस्य तथा स्वकीय सचिवहरु विकृतिका प्रमुख जड हुन । यस्ता स्वकीय सचिव तथा सल्लाहकारहरुको नियुक्तिको हालसम्म कुनै मापदण्ड बनेको छैन जसले गर्दा प्रहरी, प्रशासन, सरुवाबढुवा, ठेक्कापट्टामा यिनीहरू प्रभावशाली हुन्छन । राजनीतिक व्यक्तीहरुले गर्ने भ्रष्टाचार यहिँबाट सुरु हुन्छ । यस धारमा प्रत्यक्ष रुपमा राजनीतिक नेतृत्वलाई प्रभाव पार्छन । पछिल्लो समय यो धार बलियो हुदै गएको छ । प्रायः मन्त्री तथा प्रधानमन्त्रीले आफ्नो सल्लाहकार तथा स्वकीय सचिवको रुपमा आफन्तलाई नियुक्त गर्ने परम्परा बसेको छ । भ्रष्ट र घुस खोरीलाई नेता वा मन्त्री संग निकट पार्ने काममा उनीहरू कै संलग्नता हुन्छ ।

तेस्रो :– दृश्य धार
सार्वजनिक संस्थान प्रमुखले कमाएको रकममध्येको केही हिस्सा आफुलाई नियुक्त दिने राजनीतिक व्याक्ति कहाँ पुर्याउने गरेको समेत पाइन्छ । यस धार अन्तरगत राजनीतिक दलका नेता तथा उच्च अधिकारीहरु आफन्त तथा नातेदारहरुलाई समानुपातिक सभासद् बनाउने, सार्वजनिक संस्थान तथा निकायका बिभिन्न पदमा नियुक्त गर्ने र उनीहरू मार्फत आर्थिक अनियमिता र भ्रष्टाचारमा संलग्न हुने गर्छन । यो परिवार तथा ईष्टमित्रहरुको बृहत रुप हो । यस किसिमको पारिवारिक भुमिका र संलग्नताले राजनीतिक भ्रष्टाचारलाई मलजल गरीरहेको छ ।

चक्रप्रसाद पन्त
सचिव, नागरिक सुशासन समाज
जिल्ला कार्यसमिति, कञ्चनपुर

Victoria college

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्