बेदकोटमा अविरल बर्षाका कारण पुर्‍याएको क्षतिक‍ो लगत संकलन गर्न बस्ती बस्तीमा टोली खटाईने

कञ्चनपुरको बेदकोट नगरपालिकाले लगातारको अविरल बर्षाले पुर्‍याएको क्षतिको एकिन विवरण संकलन गरि राहतका लागि पहल गर्ने भएको छ । नगरपालिकाको आयोजनामा आज (शुक्रबार ) बसेको सर्बदलीय/ सर्वपक्षीय बैठक र कार्यपालिका बैठकले प्राकृतिक प्रकोप बिपद तथा ३ दिन देखिको अविरल बर्षाका कारण किसानहरुको धान बाली लगायत अन्य बालीमा भएको क्षतीको वास्तविक लगत संकलन गर्न १० वटै वडामा भोलि कार्तिक ६ गते बिहान १० बजे सबै वडाहरुमा वडा अध्यक्षको अध्यक्षता सर्बदलीय बैठक बस्ने भएको छ । उक्त सर्बदलीय बैठकले एउटा वडामा ५ जना जनप्रतिनिधिहरुको नेतृत्वमा सबै पार्टीका प्रतिनिधि रहेको सर्बदलीय संयन्त्र निर्माण गरि ५ वटा टोली बनाएर बस्ती र टोलमा गएर लगत संकलन गर्ने भएको छ । यसैगरी कार्तिक ९ गते भित्र नगरपालिकामा पेश गर्ने र नगरपालिकाले लगत संकलन भएको क्षती भएको तथ्यांक सहित क्षतीपुर्ती र राहत लगायत कृषिमा उत्पादकत्व बढाउन विशेष प्याकेजका लागि संघीय सरकार र प्रदेश सरकारलाई आवश्यक बजेट माग गर्ने निर्णय समेत आज बसेको सर्बदलीय तथा सर्बपक्षीय बैठकले गरेको छ।

यस्तै भौतिक संरचना सिँचाइ, नहर, कुलो, पुल, झोलुङ्गे पुल, सडक, कलभर्ट, खानेपानी, बिद्यालय, किसानहरुको सयौँ ठाउँमा जग्गालाई नदी कटान गरेको स्थानमा तटबन्ध गर्न लगायत क्षती भएको भौतिक संरचना पुर्ननिर्माण, मर्मत सम्भारका कार्य गर्न यथाशीघ्र संघीय सरकार र प्रदेश सरकार सँग आवश्यक बजेटको व्यवस्था गर्न माग गर्ने निर्णय समेत गरेको नगर प्रमुख अशोककुमार चन्दले बताउनुभयो ।

३ दिनको लगातारको बाढीबाट बेदकोटमा नदीबाट कटान हुनुका साथै भित्र्याउन लागृका किसानहरूको धानवालीमा समेत क्षति पुगेको छ । १५ प्रतिशतले मात्रै धान भित्र्याएको र अन्य किसानहरूको धान खेतमै काटेको अवस्थामा कुहेको छ भने केहिको पानीले बगाएको छ । क्षतिबारे बुझ्न नगर प्रमुख चन्दले केही स्थानमा स्थलगत अनुगमन समेत गरिसकेको छ भने विस्तृत लगत संकलन गर्न टोली गठन गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्