बाल विवाह सामाजिक कुसंस्कार रोक्न कैलालीमा रुपान्तरण कक्षा

कैलाली – जीवन उपयोगी रुपान्तरण कक्षाको सिकाईले कैलालीको गौरीगंगा नगरपालिका १० उदाशिपुरका किशोरकिशोरीहरु सामाजिक रुढीबादी परम्परा,बालविवाह र कुसंस्कार हटाउने अभियानमा लागेका छन्। वडाका विभिन्न टोल बस्तीबाट छनोट भई रुपान्तरण कक्षामा नियमित सहभागी भएका किशोरीले अन्धविश्वास र सामाजिक चिन्तन व्यवहारमा परिवर्तन ल्याउन घरपरिवारमा संघर्षका कक्षा सिकाइ उपलब्धि अनुगमनका क्रममा आफ्ना अनुभव सुनाएका हुन् । गौरीगंगा नगरपालिका १० उदाशिपुरकी १६ बर्षिया किशोरी ऋतु सुनारले महिनावारी हुँदा घरपरिवारका सदस्यबाट प्रताडित हुनुपरेको बताउदै रुपान्तरण कक्षाको सिकाईले समाज बदलिन आफ्नो भोगाई र व्यवहारिक ज्ञानको प्रयोग गर्न आत्मविश्वास बढेको बताईन् ।

महिनावारीको समयमा कसैलाई छोईछाई भए जघन्य अपराध झैं गर्दै देवता रिसाउने घरमा अनिष्ट निम्तिने भन्दै परिवारका सदस्यबाट अलग्गै व्यवहार हुने गरेकोमा रुपान्तरण कक्षाको सिकाईले परम्परागत हानिकारक सोच र विश्वासलाई परिवर्तन गर्न सहयोग भएको ममता सार्कीले बताईन् । सानो उमेरमा विवाह गरेका कारण हिंसाको भएर न्यायका लागि न्यायीक समितिमा घरेलु हिंसाका उजुरी आउने गरेको नगर उप(प्रमुख अंचला चौधरीले बताईन् ।

बालबालिकाको उमेर वृद्धिसँगै शरिरिक परिवर्तनलाई सहि तवरले बुझाउन नसक्दा क्षणिक आवेगमा भागेर आफुखुसी विवाह गर्ने धेरै घटनामा कानुनले बन्देज गरेपनि घरपरिवार समाजबाट विभिन्न आक्षेप लगाउने प्रवृत्तिमा रुपान्तरण नहुँदा सम्म बालबिबाह न्युनिकरण गर्न चुनौतीपूर्ण देखिएको उल्लेख गर्दै उप-प्रमुख चौधरीले जीवन उपयोगी सीप सहितको रुपान्तरण कक्षाले समाजिक यथार्थ उजागर गरि व्यक्तिलाई समाज परिवारको व्यवहार परिवर्तन साथै सामाजिक व्यक्तिगत विभेदका विरुद्ध सामुहिक रुपमा समस्या हल गर्न सकिने विश्वास व्यक्त गरिन् । बालविवाह रोकथामका वडाको तर्फबाट सकेसम्मका प्रयास भए पनि प्रायःजसो बालबालिकाले कक्षा ६-७ पढ्दापढ्दै बिबाह गरेर हिड्ने गरेको वडा अध्यक्ष पदम ऐरले बताए । १० नम्बर वडामा बालबिबाह गर्ने दर उच्च हुने जोखिममा रहेको भन्दै रुपान्तरण कक्षाका साथी शिक्षक रूपा चौधरीले बालबालिका केन्द्रित कार्यक्रम र सशक्त अभियान संचालनको आवश्यकता रहेको बताईन् । अनुगमनमा जिल्ला समन्वय समिति, नगरपालिका, वडा र संघसंस्थाका प्रतिनिधिहरुले किशोरकिशोरीसँग अन्तरक्रिया तथा छलफल गरेका थिए । वल्र्डभिजन इन्टरनेशनल नेपाल र बालकल्याण संघ टिकापुरको साझेदारीमा ६ महिना संचालन भएको रुपान्तरण कक्षामा वडाका सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने ३० जना किशोरकिशोरी सहभागी रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्