बादलभित्रको घाम’ साहित्य पुरस्कार किशोरलाई, शहरबिनाको शहर ८४ कृतिमध्येबाट उत्कृष्ट

शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित रु एक लाख ११ हजार १११ ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदर पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ कृतिलाई दिइने भएको छ । पुरस्कारका लागि विसं. २०७५ सालमा प्रकाशित भएका मध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँच हुँदै छनोट गरी उक्त कृति पुरस्कृत गरिने भएको हो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा सो कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले जानकारी दिनुभयो । प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो ।
पुडासैनीको कृतिमा मधेस तराई गाथा र आत्मिक प्रेम वर्णन भएकाले छनोट गरिएको पुरस्कार चयन समितिका संयोजक डा देवीप्रसाद गौतमले उल्लेख गर्नुभयो । पुरस्कृत कृतिसहित उत्कृष्ट पाँचमा अम्बिका अर्यालको उपन्यास अबिश्रान्त ,नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथासङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’ परेका थिए ।
‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनः मुद्रण गरी १२ हजारप्रति प्रकाशन भएको थियो । पुरस्कारको अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको छ । पुरस्कार आगामी फागुन १८ गते प्रदान हुने जनाएको छ ।

श्राेत : रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्