जिल्ला सभापतिहरुको परामर्श बैठकबाट आएका निष्कर्षलाई आज सभापति देउवालाई बुझाइने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले बोलाएको जिल्ला सभापतिहरुको परामर्श बैठकबाट आएका निष्कर्षलाई आज सभापति शेरबहादुर देउवालाई बुझाइने भएको छ ।
तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा ४७ जना जिल्ला सभापतिले आफ्नो धारणा राखेका छन् । सभापतिहरुले राखेका धारणालाई आधार बनाएर तयार गरिएको सुझावलाई पार्टी कार्यालयमै बुझाउन पाउनुपर्ने माग जिल्ला सभापतिहरुको छ । यसैबीच, सभापति शेरबहादुर देउवाले असन्तुष्ट जिल्ला सभापतिहरुलाई बिहानको खाजा खानलाई बूढानीलकण्ठस्थित निजी निवासमा बोलाउनु भएको जानकारी नुवाकोटका सभापति जगदीशश्वरनरसिंह के.सी.ले दिनुभयो । जिल्ला सभापतिहरुले देउवा निवासमा गएर पार्टी कार्यालयमै उपस्थित भई सुझावलाई लिई दिन सभापति देउवासँग आग्रह गर्ने तयारी गरेका छन् ।
कमै मात्र पार्टी कार्यालय आउनु हुने सभापति देउवाले पार्टी कार्यालयमा नआउने बताउनु भएमा निवासमै भए पनि सुझाव दिने तयारी जिल्ला सभापतिहरुको छ । जम्मा ७७ जिल्ला सभापतिमध्ये असन्तुष्ट पक्षका ४७ जनाको उपस्थिति छ ।
सभापतिको मुख्य सुझावमा एक पक्षीयरुपमा घोषित १४ औं महाधिवेशनको कार्यतालिका सहमतिमा घोषणा गरिनुपर्ने, पार्टीका विभाग २८ वटै कायम रहनुपर्ने र विधानअनुसार नै गठन गरिनुपर्ने, भ्रातृ सङ्गठनको विधान अनुसार नै गठन गरिनुपर्ने, भागबण्डाको राजनीति त्याग्नुपर्नेमा जोड दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्