बलीवुड अभिनेता सञ्जय दत्तलाई क्यान्सर

भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन् । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले “चाँडै क्यान्सरलाई परास्त गर्ने“ विश्वास व्यक्त गरेका छन् ।

उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन् ।

अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड–१९ परीक्षण गरिएको थियो । तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन । त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो ।

फोक्सोको क्यान्सर देखिएको अपुष्ट समाचार अनुसार आएकै बेला उनले “औषधोपचारका लागि कामबाट छोटो बिदा“ लिने बताएका थिए ।

सञ्जय दत्तले सन् २००९ मा समाजवादी पार्टीका लागि निर्वाचन प्रचारप्रसार गरेका थिए । सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्नै प्रशंसकहरूलाई उनको अवस्थाबारे “चिन्ता वा अनावश्यक अनुमान नगर्न“ आग्रह गरेका छन् ।

आफ्ना केशविन्यासकार आलिम हकिमको सलोनमा खिचिएको भिडिओमा दत्तले देब्रे आँखीभौँदेखि टाउकोको छेउसम्म बनेको एउटा दाग देखाएका छन् । “यो मेरो जीनवको आलो दाग हो । तर म यसलाई परास्त गर्छु । म क्यान्सरबाट चाँडै मुक्त हुन्छ ।“

दत्तले नयाँ चलचित्रको छायाङ्कनमा जान पाउने भएकोमा प्रसन्नता व्यक्त गरेका छन् । सन् २०१३ मा पाँच वर्ष जेल परेपछि उनको अभिनययात्रामा विश्राम लागेको थियो । सन् १९९३ मा मुम्बईमा भएका विस्फोटन र बन्दुकसम्बन्धी मुद्दामा उनी दोषी ठहर भएका थिए । ती घटनामा २५७ मानिसको ज्यान गएको थियो भने ७१३ जना घाइते भएका थिए । तर सन् २०१६ मा कारागरबाट छुटेपछि उनी फेरि चलचित्र उद्योगमा फर्किए ।

उनले त्यसपछि अभिनय गरेका केही चलचित्रहरू धेरै सफल भए । रणवीर कपूरले अभिनय गरेको दत्तको जीवनकथामा आधारित चलचित्र धेरै चल्यो ।

सञ्जय दत्तले आफू लागुपदार्थको दुर्व्यसन र मुम्बई घटनामा दोषी ठहर भएको विषयमा खुलेरै अन्तर्वार्ता दिएका छन् । ती घटनाले आफूलाई बलियो बनाएको उनको भनाइ छ ।

उनकी आमा नरगिसको सन् १९८१ मा र पहिली पत्ती ऋचा शर्माको १९९६ मा क्यान्सरकै कारण मृत्यु भएको थियो । उनका बुवा सुनील दत्त र आमा नरगिस दुवै जना कलाकार थिए । सुनीत दत्त पछि राजनीतिमा पनि लागे ।

सञ्जय दत्तले सन् १९८१ देखि आफ्नो अभिनय गर्न थालेका हुन् । BBC 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्