लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण, संरक्षण र शिक्षा सुरु

सुशील सुवेदी, सिन्धुपाल्चोक                                                          

जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आजदेखि एस ओ एस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरुको पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा सहित बस्नेछन् । यससँगै अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ । यहि भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुग्नुभएका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताउनुभएको थियो ।

सभामुखको आग्रहमा एस ओ एस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईं सहितको टोली भदौ १६ जिल्लाको बाँसखर्क पुगेर वडा अध्यक्ष लामासँग समन्वय गरी बालबालिकालाई एस ओ एस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पुरा भएपछि आज सात बालबालिकालाई पनौती स्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिनुभयो । पहिरोमा अभिभावक गुमाएका पाँच देखि बाह्र बर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एस ओ एस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिनुभयो । लामाका अनुसार बालग्राम पठाइएकाहरुमा छ जना बालक र एक बालिका छन् ।

पहिरोबाट विस्थापित भएर जुगल गाउँपालिका वडा नं १ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयहरुबाट आवश्यक काजगपत्र तयार गरी पि सि आर विधिबाट कोरोना परिक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एस ओस एस बालग्राम पनौतिका निर्देशक अमगाईं, विनोदमणी भट्टराई लगायतका टोलीसँग पठाइएको अध्यक्ष लामाले बताउनुभयो । गत साउन ३० गते विहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिका मध्ये १२ बर्ष माथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने एस ओ एस बालग्राम पनौतिका निर्देशक अमगाईले जानकारी दिनुभयो ।

जुगल गाउँपालिका वडा नं २ को लिदी पहिरोले ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ । विस्थापितहरुको स्थायी बसोबासका लागि पहल भइरहेको छ ।

तस्बिर सौजन्य : श्रीधर न्यौपाने (सभामुखका सल्लाहकार )

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्