अमेरिकी जासुसलाई फासी दिने इरानी अदालतको निर्णय

एजेन्सी – ईरानी क्वाद सेनाका शीर्ष कमाण्डर कासिम सुलेइमानीबारे अमेरिकी तथा इजरायली गुप्तचर संस्थालाई जानकारी दिने व्यक्तिलाई चाँडै फासी दिइने इरानी न्यायालयले जनाएको छ । ३ जनवरीमा ईराकमा अमेरिकाले सुलेमानी बसेको ठाउँलाई निशाना बनाएर ड्रोन हमला गरेको थियो र यस हमलामा सुलेमानी मारिएका थिए ।

सुलेमानीले मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिकविरुद्ध आक्रमणको योजना बनाइरहेकाले उनको हत्या गर्नुपरेको अमेरिकी सेनाको दाबी थियो । सुलेमानीविरुद्ध अमेरिकाका लागि जासुसी गर्ने व्यक्ति ईरानकै नागरिक हुन् । यी व्यक्तिमाथि अमेरिकी गुप्तचर संस्था सिआईए र ईजरायली गुप्तचर संस्था मोसादका लागि जासूसी गर्ने गरेको अभियोग छ ।

‘मम्मउद मोउसभी– मेज्द, जो सिआईए र मोसादका जासुसमध्ये एक हुन् । उनलाई फासीको सजाय भएको छ । उनले सहिद सुलेमानीबारे हाम्रा शत्रुहरुलाई जानकारी दिने गरेका थिए,’ न्यायालयका प्रवक्ता गोलामहोसैन इस्माइलीले पत्रकार सम्मेलनमा भनेका छन् ।

सुलेमानीको हत्यापछि जवाफी कारबाहीस्वरुप जनवरी ८ मा इरानले इराकस्थित अमेरिकी सेनाको अखडा ऐन अल असदमा रकेट आक्रमण गरेको थियो । यस घटनामा कोही पनि अमेरिकी सैनिकले ज्यान गुमाएनन् । तर पछि सयौँ सैनिकमा ट्रमाटिक ब्रेन इन्जुरी भएको पहिचान गरियो ।

स्रोत : हिन्दुस्तान टाइम्स

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्