जर्ज फ्लोइड मृत्यु: अमेरिकाभर न्याय माग्दै भएका विरोध प्रदर्शनमा झडप

अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन हुँदा प्रहरीसँग झडप भएको छ ।

सयौँ मानिसहरूले जर्ज फ्लोइडको हत्यामा न्यायको माग गर्दै ह्वाइट हाउसको बाहिर विरोध प्रदर्शन गरेका छन् । मिनेसोटा, न्यू योर्क, एटलान्टा र अरू क्षेत्रमा हिंसात्मक प्रदर्शन भएका छन् । जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए । हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका एकजना पूर्व प्रहरी अधिकारीलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ ।

गोरा जातिका डेरेक चौविनले ४६ वर्षीय काला जातिका फ्लोइडको घाँटी थिचेको फूटेज सार्वजनिक भएको थियो । चौविन र थप तीनजना प्रहरीहरूलाई उक्त काण्डका कारण यस अघि नै सेवाबाट बर्खास्त गरिएको थियो । चौविनलाई सोमवार पहिलोपटक मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने बताइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटनालाई ’भयानक, भयानक’ भन्दै आफूले फ्लोइडका परिवारसँग कुराकानी गरेको बताएका छन् ।

विरोध प्रदर्शनको पछिल्लो विवरण

मिनेसोटामा स्थिति गम्भीर छ । मिनियापोलिस र सेन्ट पल शहरमा शुक्रवार र शनिवार बेलुका ८ देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ ।

प्रदर्शनकारीले शुक्रवार कर्फ्यु तोडेका छन् । कैयौँ ठाउँमा कारका टायर बालिएका छन् । कैयौँ ठाउँमा अग्नि नियन्त्रकहरू पुग्न सकिरहेका छैनन् ।

मिनियापोलिसमा लुटपाट भएका घटना टेलिभिजनहरूमा देखाइएको छ । प्रहरी अधिकारीको उपस्थिति असाध्यै पातलो देखिएको छ ।

पेन्टागनले सेनालाई मिनियापोलिसमा सम्भावित गस्तीका लागि तयार अवस्थामा राखेको छ ।

शनिवार साँझ वाशिङटनमा ह्वाइटहाउस नजिकै फ्लोइडका तस्बिर बोकेको भिडले फ्लोइडले भनेका अन्तिम वाक्य ’मलाई सास फेर्न गाह्रो भयो’ भन्ने नारा लगाएको थियो । त्यसपछि ह्वाइटहाउसमा अस्थायी लकडाउन गरिएको थियो ।

एटलान्टाका कैयौँ क्षेत्रमा मानिस र सम्पत्ति जोगाउनका लागि भन्दै सङ्कटकाल घोषणा गरिएको छ । समाचार प्रसारक संस्था सीएनएनको कार्यालय नजिक प्रदर्शनकारीहरू जम्मा हुँदा भवनहरूमा क्षति पुर्‍याइएको थियो र एउटा प्रहरी कारमा आगो लगाइएको थियो ।

न्यू योर्कको ब्रूकलीनमा प्रदर्शनकारीहरू र प्रहरीको झडप भएको थियो। त्यहाँ कैयौँ प्रहरीहरू घाइते भएका थिए र कैयौँलाई गिरफ्तार गरिएको थियो । स्रोत : बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्