सप्तरीमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, जिल्लाभरी ४२ जना संक्रमित

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार एक महिलासहित नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको हो ।
स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार डाक्नेश्वरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या १२ पुगेको छ । सङ्क्रमितहरूको उमेर १८ देखि ६० वर्षसम्मको रहेको छ । उनीहरू भारतको विभिन्न स्थानबाट आएका थिए ।
बोदेवर्साइन नगरपालिकामा सङ्क्रमितको सङ्ख्या सर्वाधिक २१ जना रहेको छ । स्थानीय चन्द्रा शत्रुघ्न माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दैआएका १२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । उनीहरू ४० वर्षमुनिको उमेर समूहका रहेका छन् ।
स्वास्थ्य कार्यालय, सप्तरीबाट खटिएको टोलीले नौ दिनअघि उक्त क्वारेन्टाइनमा बस्दैआएका २४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाएको थियो । सङ्क्रमितमध्ये एक सुरक्षाकर्मीसमेत रहेका छन् । उहाँ सोही क्वारेन्टाइनमा खटिँदैआउनुभएको थियो । अन्य ११ जना करिब दुई साताअघि खुला सिमाना भएर भारतबाट आएका थिए ।
जिल्लाको बलान विहुल गाउँपालिकामा तीन, विष्णुपुर गाउँपालिकामा एक र सुरुङ्गा नगरपालिकामा एक जना कोरोना सङ्क्रमित फेला परेको छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्