इरानमाथि अमेरिकाको आक्रमणमा परी ३८ जनाको मृत्यु

काठमाडौं – इरानमा अमेरिकाले गरेको भनिएको पछिल्लो सैन्य आक्रमणमा कम्तीमा ३८ जनाको मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

समाचारअनुसार आक्रमणबाट पुल, ऊर्जा पूर्वाधार तथा समुद्री नियन्त्रण टावरलगायत केही नागरिक संरचनामा पनि क्षति पुगेको बताइएको छ। अमेरिकाले भने उक्त कारबाही इरानको सैन्य क्षमता कमजोर बनाउने र क्षेत्रीय सुरक्षा चुनौती न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनाएको छ। इरानले भने नागरिक पूर्वाधारलाई नै लक्षित गरी आक्रमण गरिएको आरोप लगाएको छ।

यसैबीच इरानले जवाफी कदमस्वरूप बहराइन, कुवेत, सिरिया र ओमानस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। यी दाबीहरूबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित थप सैन्य कारबाहीको तयारीस्वरूप इजरायलमा थप हवाई इन्धन भर्ने (रिफ्युलिङ) विमानहरू पठाउने योजना अघि बढाएको छ।

रिपोर्टहरूका अनुसार हर्मोज जलडमरूमध्य आसपासको क्षेत्रलाई केन्द्रमा राखेर अहिलेसम्मको भन्दा ठूलो सैन्य अभियानका विकल्पहरूबारे छलफल भइरहेको छ। सम्भावित योजनामा इरानका ऊर्जा तथा आणविक पूर्वाधार पनि निशानामा पर्न सक्ने उल्लेख गरिएको भए पनि यसबारे अन्तिम निर्णय भने भइनसकेको जनाइएको छ। क्षेत्रमा तनाव बढिरहेका बेला कूटनीतिक प्रयासलाई तीव्र बनाउने अन्तर्राष्ट्रिय समुदायको आह्वान जारी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्