आज रातिदेखि भारी वर्षाको चेतावनी, जोखिमयुक्त क्षेत्रमा रातिको यात्रा नगर्न आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आज राति र भोलि देशका धेरै स्थानमा मुसलधारेदेखि आरिघोप्टे वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै बङ्गालको खाडीमा विकसित मौसमी प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आएकाले यसको प्रभावले देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश हिमाली र पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्छ। प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न तथा उच्च जोखिम भएका जिल्लामा आवश्यक परे रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

विशेष सावधानी अपनाउन भनिएका जिल्लामा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। यी जिल्लाका सडक तथा राजमार्गमा रातिको समयमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिँदै पहिरोको जोखिम भएका सडकमा डोजर तथा अन्य आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्