हेटौंडा – नेकपा (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सोही निर्णयअनुसार एमालेबाट सरकारमा सहभागी ६ जना मन्त्रीले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका छन्।
एमालेका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापाका अनुसार पार्टीको निर्णयबमोजिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सबै मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरिएको हो। उनका अनुसार अधिकांश मन्त्री हेटौंडाबाहिर रहेकाले एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमार्फत इमेलबाट राजीनामा पठाइने तयारी गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेबाट मधुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्रीका रूपमा सहभागी थिए।
यसअघि प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेपछि जयराम थापा र भरतबहादुर केसीको मन्त्रालय खारेज भएको थियो। त्यसपछि उनीहरूलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको थियो भने अन्य केही मन्त्रीलाई पनि विषयगत अतिरिक्त जिम्मेवारी तोकिएको थियो। एमालेले यसअघि नै असार ३२ गते सरकारबाट बाहिरिने तयारी गरे पनि पार्टीको केन्द्रीय निर्देशनपछि राजीनामा स्थगित भएको थियो। अहिले भने पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय कार्यान्वयनमा लैजान लागेको हो।
मन्त्रालय पुनःसंरचनापछि बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय मात्र कायम भएका छन्। एमाले सरकारबाट बाहिरिएपछि प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण र विश्वासको मतको विषयले थप महत्व पाउने देखिएको छ।



