काठमाडौं – नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। नेपाल बैंक र इन्द्रप्रस्थ अपोलो अस्पतालबीच भएको सम्झौताअनुसार बैंकका खातावाला ग्राहक तथा कर्मचारीले अस्पतालका विभिन्न उपचार सेवाको बिलमा विशेष छुट सुविधा प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र अस्पतालका तर्फबाट उपप्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका हुन्।
बैंकका अनुसार यस सहकार्यले ग्राहक तथा कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनुका साथै उपचार खर्चमा राहत पुग्ने अपेक्षा गरिएको छ।
हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले ग्राहककेन्द्रित सेवा, आधुनिक बैंकिङ प्रविधि र गुणस्तरीय सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ।



