काठमाडौँ – दक्षिण अमेरिकी देश भेनेजुएलामा एक मिनेटको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार घटनामा कम्तीमा १८८ जनाको ज्यान गएको छ भने १ हजार ५ सयभन्दा बढी मानिस घाइते भएका छन्। ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित विभिन्न प्रभावित क्षेत्रमा भवन, सडक तथा अन्य संरचनामा व्यापक क्षति पुर्याएको जनाइएको छ। विशेषगरी ला ग्वाइरा राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ।
अन्तर्राष्ट्रिय निकायहरूको प्रारम्भिक विवरणअनुसार १०० भन्दा बढी भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने धेरै संरचनामा आंशिक क्षति पुगेको छ। भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ। स्थानीय बासिन्दाले भूकम्पको धक्का लामो समयसम्म महसुस भएको बताएका छन्। धेरै घरमा क्षति पुगेपछि हजारौँ मानिस सुरक्षित स्थानको खोजीमा खुला चौर, सडक तथा अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन्।
सरकारी निकाय, सुरक्षा निकाय तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा राहत वितरण, घाइतेको उपचार र क्षतिको विस्तृत मूल्याङ्कनमा जुटेका छन्। अधिकारीहरूले मृतक तथा घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन्।





