जालपादेवी केबलकार: सुदूरपश्चिमको पर्यटन र समृद्धिको नयाँ आधार

सुदूरपश्चिम – कर्णाली नदीको मनोरम तटमा निर्माणाधीन जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासमा नयाँ आशा जगाएको छ। कैलालीको चिसापानीदेखि मोहन्याल गाउँपालिकाको राजकाँडासम्म निर्माण भइरहेको यो परियोजनालाई प्रदेशकै सबैभन्दा ठूलो निजी पर्यटन लगानीमध्ये एक मानिएको छ।

आइएमई समूहको मुख्य लगानीमा निर्माण भइरहेको परियोजनामा करिब ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। पहिलो चरणमा ३.१ किलोमिटर लामो केबलकारसँगै होटल, रेष्टुरेन्ट, स्काईवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्। परियोजना सञ्चालनमा आएपछि चिसापानीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

परियोजनाका इन्जिनियर विजय पौडेलका अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। पोल जडान, बटम र टप स्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ भने त्यसपछि तार तान्ने र गोन्डोला जडानको काम सुरु हुनेछ। निर्माण सम्पन्न गरी आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए।

पर्यटन व्यवसायीहरूका अनुसार अहिले पनि चिसापानी पुल अवलोकनका लागि दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन्। केबलकार सञ्चालनमा आएपछि पर्यटकको बसाइ अवधि लम्बिने, होटल तथा रेष्टुरेन्ट व्यवसाय विस्तार हुने र स्थानीय आर्थिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवरले यति ठूलो निजी पर्यटन लगानीले प्रदेशको आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने बताए। उनका अनुसार पर्यटनसँगै होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रले प्रत्यक्ष लाभ पाउनेछन्।

स्थानीय व्यवसायीहरू पनि परियोजनाले रोजगारी सिर्जना, कृषि उत्पादनको बजार विस्तार तथा युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्छन्। होमस्टे, हस्तकला, स्थानीय परिकार र सांस्कृतिक पर्यटनसमेत यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।

भौगोलिक दृष्टिले पनि चिसापानी क्षेत्र निकै महत्वपूर्ण मानिन्छ। कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा तथा बाँकेको रूपैडिहा नाकाबाट सहज पहुँच भएकाले भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना रहेको छ। उत्तराखण्ड र उत्तर प्रदेशका लाखौँ पर्यटकलाई लक्षित गरी पर्यटन प्रवर्द्धन गर्न सके यस क्षेत्रको अर्थतन्त्रमा उल्लेख्य परिवर्तन आउने व्यवसायीहरूको भनाइ छ।

आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जालपादेवी केबलकारलाई केवल पर्यटन परियोजना नभई सुदूरपश्चिमको आर्थिक रूपान्तरणको माध्यमका रूपमा लिएको बताए। उनका अनुसार यस परियोजनाले स्थानीय रोजगारी, निजी लगानी र पर्यटन पूर्वाधार विस्तारमार्फत दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

लामो समयदेखि सम्भावनामा सीमित रहेको कर्णाली–चिसापानी क्षेत्र अब आधुनिक पर्यटन पूर्वाधारसँग जोडिँदै गएको छ। परियोजना सञ्चालनमा आएपछि प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र साहसिक पर्यटनलाई एउटै गन्तव्यमा समेट्दै सुदूरपश्चिमको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्