नेपाल बैंकको विशेष योजना: असारभित्र कर्जा चुक्ता वा नियमित गरे ब्याज छुट पाइने

काठमाडौं । नेपाल बैंकले कर्जा ग्राहकहरूका लागि ब्याज छुटसहितको विशेष कर्जा चुक्ता योजना सार्वजनिक गरेको छ। खराब कर्जामा परेका तथा नियमित किस्ता भुक्तानी गर्न नसकेका ग्राहकलाई लक्षित गर्दै बैंकले सीमित अवधिका लागि विशेष सहुलियत योजना ल्याएको हो।

बैंकले जारी गरेको सूचनाअनुसार २०७९ चैत मसान्तसम्म ‘खराब’ वर्गमा वर्गीकृत भएका वा अपलेखन (राइट–अफ) गरिएका १ करोड रुपैयाँसम्म साँवा बक्यौता भएका कर्जा ग्राहकहरूले यो सुविधा लिन सक्नेछन्।

यस्ता ग्राहकहरूले चालु आर्थिक वर्षको असार मसान्तभित्र बैंकसँगको सहमतिअनुसार कर्जा चुक्ता गरेमा विशेष ब्याज छुट प्रदान गरिने नेपाल बैंकले जनाएको छ। बैंकले यो अवसरको उपयोग गर्दै आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सम्बन्धित ग्राहकहरूलाई आग्रह गरेको छ।

त्यस्तै, २०८० वैशाख १ गतेपछि निष्क्रिय वा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूका लागि पनि बैंकले सहुलियतको व्यवस्था गरेको छ। असार मसान्तभित्र बक्यौता साँवा र ब्याज भुक्तानी गरी कर्जा पूर्ण रूपमा चुक्ता गर्ने वा कर्जा खाता नियमित गर्ने ग्राहकले पनि ब्याज छुटको सुविधा पाउने बैंकले जनाएको छ।

नेपाल बैंकका अनुसार यो योजनाले समस्याग्रस्त कर्जा व्यवस्थापनमा सहयोग पुग्नुका साथै ग्राहकलाई अतिरिक्त आर्थिक भारबाट राहत मिल्ने विश्वास गरिएको छ। बैंकले तोकिएको समयसीमाभित्र योजना उपयोग गरी आफ्नो कर्जा नियमित गर्न सबै योग्य ग्राहकलाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्