शनिबारसम्म तराईमा तातो लहरको चेतावनी, पहाडमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका केही तराई क्षेत्रमा शनिबारसम्म तातो लहर (हिटवेभ) को प्रभाव रहने चेतावनी दिएको छ। बिहीबार साँझ सार्वजनिक गरिएको मौसम बुलेटिनअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा शुक्रबार र शनिबार पनि तातो लहर चल्ने सम्भावना रहेको छ। महाशाखाले ती क्षेत्रका बासिन्दालाई अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको महाशाखाले जनाएको छ। शुक्रबार र शनिबार देशका हिमाली तथा पहाडी भूभागसँगै कोशी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। यी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ।

यता, सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर तथा लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा अत्यधिक गर्मी (तातो दिन) को अवस्था कायम रहने पूर्वानुमान गरिएको छ। महाशाखाले तातो लहरबाट प्रभावित क्षेत्रमा अत्यावश्यक कामबाहेक दिउँसो घाममा लामो समय नबस्न, प्रशस्त पानी पिउन तथा बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको विशेष हेरचाह गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्