दार्चुला — दार्चुलाको लेकम गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रामदत्त जोशीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएपछि दोस्रो बैठकमा उपाध्यक्ष माधवी जोशीले बजेट प्रस्तुत गर्नुभएको हो।
उपाध्यक्ष जोशीका अनुसार बजेटमा भौतिक, आर्थिक, सामाजिक, सेवा सुधार तथा संस्थागत विकासका सबै क्षेत्रलाई प्राथमिकता दिइएको छ। उपलब्ध स्रोतका आधारमा आवश्यक बजेट विनियोजन गरिएको जानकारी उहाँले दिनुभयो।
गाउँपालिकाको कुल बजेटमा संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आम्दानी तथा अघिल्लो वर्षको मौज्दात रकम समेत समेटिएको छ। बजेटमाथि छलफल जारी रहेको प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले जानकारी दिनुभयो।