अब हेलम्बु डिजिटलमय बन्ने

काठमाडौँ – हेलम्बु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत डिजिटल रूपान्तरणलाई मूल प्राथमिकतामा राख्दै समग्र गाउँपालिकालाई डिजिटलमय बनाउने घोषणा गरेको छ।

गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा प्रस्तुत नीति तथा कार्यक्रममा सेवा प्रवाहको दक्षता, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने लक्ष्यसहित शिक्षादेखि प्रशासनसम्म डिजिटल प्रविधि आधारित प्रणाली लागू गरिने उल्लेख गरिएको छ।

अब हेलम्बु गाउँपालिकाका मातहत सञ्चालनमा रहेका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र सामुदायिक संरचनाहरूमा सेवा प्रवाह तथा कार्य सम्पादन डिजिटल माध्यमबाट हुनेछ। सबै कार्यालयहरूको डिजिटल प्रोफाइल तयार पारिने छ भने कार्यालय तथा विद्यालयहरूमा इ-हाजिरी प्रणाली, सीसीटीभी निगरानी प्रणाली, र अनलाइन अनुगमन प्रणालीमार्फत कार्यसम्पादनको नियमित मूल्याङ्कन गरिनेछ।

शिक्षा क्षेत्रमा प्रविधियुक्त सिकाइ प्रणाली

गाउँपालिकाले शिक्षा क्षेत्रमा गुणस्तरीय रूपान्तरण ल्याउन स्मार्ट शिक्षा प्रणालीमा जोड दिने भएको छ। कक्षा ८ देखि १२ सम्मका सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरिने छ भने अघिल्लो वर्ष आवश्यक डिजिटल सामग्री नपुगेका विद्यालयहरूमा कम्प्युटर, ल्यापटप, प्रिन्टर र फोटोकपी मेसिन उपलब्ध गराइएको जनाइएको छ। शिक्षकहरूको नियमितता, शिक्षक अभाव र सिकाइ प्रभावकारिता सुनिश्चित गर्न डिजिटल सिकाइ प्रणालीको विकास तथा विस्तार गरिने छ।

स्मार्ट प्रशासन र पारदर्शिता प्रवर्द्धन

गाउँपालिकाका सबै कार्यालयमा सिसीटिभी प्रणाली, इ-हाजिरी सफ्टवेयर, सूचना प्रवाह व्यवस्थापन प्रणाली र सुरक्षित अभिलेख प्रणाली लागू गरिनेछ। वडास्तरीय कार्यालयहरूमा समेत अनुगमन गर्न मिल्ने सीसीटीभी जडान गरी सुसासनको अनुभूति हुने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ।

डिजिटल पूर्वाधारमा लगानी

डिजिटल पालिका निर्माणका लागि आवश्यक हार्डवेयर तथा सफ्टवेयर, सूचना प्रविधिसम्बन्धी पूर्वाधार, इन्टरनेट पहुँच र सूचना सुरक्षालाई प्राथमिकतामा राखेर लगानी गरिनेछ। यसमार्फत सबै सेवा डिजिटल माध्यमबाट सहज रूपमा नागरिकको पहुँचमा पुर्‍याइने लक्ष्य लिइएको छ।

अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने, “डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत हामी हेलम्बु गाउँपालिकालाई पारदर्शी, जवाफदेही र सक्षम सेवा केन्द्रमा रूपान्तरण गर्दैछौं। यसले स्थानीय सरकारको विश्वसनीयता बढ्नेछ र नागरिकले सहज सेवा प्राप्त गर्नेछन्।” यसै कार्यक्रममार्फत हेलम्बु गाउँपालिकाले डिजिटल सशक्तिकरणलाई स्थानीय शासनको मेरुदण्डका रूपमा विकास गर्दै “डिजिटल हेलम्बु” को अभियानलाई सार्थक बनाउन महत्वपूर्ण कदम चालेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्