तेहरान – इजरायलसँगको जारी युद्धमा आवश्यक परे अमेरिकाविरुद्ध समेत आक्रमण गर्ने रणनीतिमा इरान रहेको खुलासा भएको छ। न्युयोर्क टाइम्सको एक अनुसन्धानात्मक रिपोर्ट अनुसार, इरानले अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै आक्रमणको तयारी गरिसकेको छ।
रिपोर्टमा उल्लेख भएअनुसार इरानका दुई उच्च अधिकारीहरूले अमेरिकाले इजरायलको पक्षमा सक्रिय रूपमा युद्धमा प्रवेश गरेमा, इराकस्थित अमेरिकी सैन्य अड्डाहरूलाई पहिलो प्राथमिकतामा राखेर हमला गर्न सक्ने बताएका छन्। त्यसपछि अन्य मध्यपूर्वीय देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरू पनि इरानको लक्ष्य बन्न सक्ने सम्भावना रिपोर्टमा औंल्याइएको छ।
इरानले इजरायलमाथिको मिसाइल आक्रमणलाई जारी राखिरहँदा अमेरिकाले खुला रूपमा इजरायलको समर्थन गरिरहेको छ। यही सन्दर्भमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयोतल्लाह अली खामेनीलाई बिना सर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन्। उनले खामेनी कहाँ छन् भन्ने जानकारी आफूहरूलाई भएको बताउँदै तत्काल नभए पनि उनलाई “मार्न सक्ने” टिप्पणी गरेका थिए।
ट्रम्पको चेतावनीपछि खामेनीले एक्स (पूर्व ट्विटर) मा लेख्दै युद्ध सुरु भएको घोषणा गरेका छन्। उनले लेखेका छन्, “पवित्र हैदरको नाममा युद्ध सुरु भयो।” खामेनीले आतंकवादी शासनहरूमाथि कठोर प्रतिक्रिया जनाउनुपर्ने र त्यसमा कुनै दया नदेखाइने बताएका छन्।
फताह–१ मिसाइल प्रक्षेपण : इजरायलको सुरक्षा चुनौतीमा
इरानले यसैबीच इजरायलतर्फ फताह–१ नामक हाइपरसोनिक ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको दाबी गरेको छ। इरानको सरकारी टेलिभिजन प्रेस टीभी ले इस्लामिक रिभोलुसन गार्ड्स क्रोप्स (IRGC) लाई उद्धृत गर्दै यो आक्रमणलाई युद्धको ‘महत्त्वपूर्ण मोड’ भनेको छ।
बीबीसीका अनुसार, फताह–१ इरानले २०२३ मा सार्वजनिक गरेको हाइपरसोनिक मिसाइल हो। यसले म्याच १३ देखि १५ (ध्वनिको गति भन्दा १३–१५ गुणा तीव्र) सम्मको गतिको साथमा ८७० माइल (१४०० किलोमिटर) टाढाको लक्ष्य भेदी गर्न सक्छ। इरानले यो मिसाइलले इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीलाई निष्क्रिय बनाउने सामर्थ्य राख्ने दाबी समेत गरेको छ।
इरान–इजरायल युद्धले पुनः मध्यपूर्वमा तनाव बढाइरहेको छ। यदी अमेरिका खुला रूपमा युद्धमा सहभागी भयो भने त्यसको क्षेत्रीय असर मात्र नभई वैश्विक सुरक्षा सन्तुलनमा समेत चुनौती थपिने स्पष्ट संकेत देखिन थालेको छ।
अमेरिका, इजरायल र इरानबीचको यो त्रिकोणात्मक तनाव आगामी दिनमा कति विस्फोटक बन्छ ? अन्तर्राष्ट्रिय कूटनीति र सैन्य निर्णयहरूले नै त्यसको उत्तर दिनेछन्।