कैलाली – कैलाली कारागारमा अचेत अवस्थामा भेटिएका एक कैदीको मृत्यु भएको छ। तर दुई दिन बितिसक्दा पनि शव अस्पतालमै रहेको छ। मृतकका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरिएको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेका छन्।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पाली सोमबार राति साढे १० बजे कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका थिए। उनलाई तत्काल सेती प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा राति नै मृत्यु भएको जेलर पदम तिमिल्सिनाले जानकारी दिए।
पाली बैंकिङ कसुरमा दोषी ठहर भएका थिए। जिल्ला अदालतले उनलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गरिसकेको थियो। फरार रहेका पालीलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो।
जेलर तिमिल्सिनाका अनुसार उनलाई अस्पताल ल्याउँदा उच्च ज्वरो र अत्यधिक न्यून रक्तचाप थियो। साथै उनको मुख, खुट्टा र शरीरका विभिन्न भागमा चोटपटक देखिएको बताइएको छ। यही आधारमा आफन्तले कारागारमै कुटपिटबाट हत्या गरिएको आशंका गरेका छन्।
हाल पालीको शव सेती प्रादेशिक अस्पतालमै रहेको छ। शव पोस्टमार्टम र घटनाबारे अनुसन्धान जारी रहेको कारागार प्रशासनले जनाएको छ।
घटनाप्रति स्थानीय स्तरमा चासो बढेको छ र आफन्तसहित मानव अधिकारकर्मीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।