काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान साढे ११ बजे बस्ने तय भएको छ ।
गत शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म जारी रहेको थियो । बैठकमा बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
आजको बैठकमा यसअघि बोल्न बाँकी रहेका नेताहरूले धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यसूची रहेको बताइएको छ ।
बैठकमा अध्यक्ष ओलीको बचाउ गर्दै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतले कठिन परिस्थितिमा नेतृत्वको संरक्षण आवश्यक रहेको धारणा राखेका थिए ।
तर शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत घुमाउरो शैलीमा वर्तमान अवस्थामै पार्टी अगाडि बढ्न कठिन हुने संकेत गरेको स्रोतको दाबी छ । महासचिव पोखरेलसहित उपमहासचिव योगेश भट्टराई, रघुबिर महासेठ तथा सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ओलीको विपक्षमा उभिएको बताइएको छ ।
यसअघि शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्षले पनि ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
यद्यपि उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा देखिएका छन् ।
आजको बैठकमा सचिव शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्ने कार्यक्रम रहेको छ ।
हालसम्म अधिकांश नेताहरूले आलोचना गर्दै नेतृत्व परिवर्तनको सुझाव दिए पनि अध्यक्ष ओली त्यसमा सहमत नभएको स्रोतले जनाएको छ । आज सबै नेताहरूको धारणा सकिएपछि ओलीले औपचारिक जवाफ दिने कार्यक्रम रहेको छ ।






