काठमाडौं – पश्चिम तराईका जिल्लामा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखेको छ । यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र सुर्खेत लगायतका जिल्लालाई पनि अद्यावधिक रहन आग्रह गरिएको छ ।
ती जिल्लाका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको जनाइएको छ । अत्यधिक गर्मीका कारण थकान, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूले बताएका छन् ।
तातो हावाको लहरबाट बच्न प्राधिकरणले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कनुपरे पातलो कपडाले टाउको ढाक्न तथा प्रशस्त पानी पिउन आग्रह गरेको छ । साथै कागती पानी र फलफूल सेवन गर्न, बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन तथा खेतबारीको काम बिहान वा दिउँसोपछि मात्रै गर्न पनि सुझाव दिइएको छ ।






