अमेरिका– लस एञ्जलस, अमेरिका – अमेरिका–मेक्सिको सीमामा आप्रवासन नियन्त्रणका लागि गरिएको धरपकडविरुद्ध लस एञ्जलसमा भएको प्रदर्शन हिंसात्मक बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बीबीसीका अनुसार केही प्रदर्शनकारी पक्राउ परेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिप्रति असन्तुष्टि जनाउँदै सुरु भएको प्रदर्शनले स्थानीय समुदायमा उत्तेजना र तनाव सिर्जना गरेको छ। स्थिति नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पले २,१०० नेशनल गार्ड र ७०० मरीन सैनिक तैनाथ गर्ने आदेश दिएका छन्। यद्यपि, उनले प्रदर्शनकारीहरूलाई “हिंस्रक र विद्रोही भीड” भनेर सम्बोधन गरेपछि राजनीतिक विवाद थपिएको छ।
यसैबीच, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले ट्रम्प प्रशासनको आलोचना गर्दै बिना अनुमति नेशनल गार्ड तैनाथ गरिएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन्। उनले राष्ट्रपति ट्रम्पले संविधानविपरीत कदम चालेको र स्थिति अझ बिगार्ने काम गरेको आरोप लगाएका छन्।
प्रदर्शन बढ्दै जाँदा लस एञ्जलस लगायतका शहरी क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ भने मानव अधिकारवादी संस्थाहरूले शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।