मनसुनको सक्रियता ढिलो, गर्मीबाट भने केही राहत मिल्ने सम्भावना

सांकेतिक तस्बिर

काठमाडाैँ – नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिनअघि अर्थात् जेठ १६ गते भित्रिए पनि हालसम्म कोशी प्रदेशभन्दा पश्चिमतर्फ फैलन नसकेको छ। मनसुन सक्रिय नहुँदा देशका अधिकांश स्थानमा चर्को गर्मी बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्मको वर्षा पश्चिमी वायु र स्थानीय प्रणालीका कारण भएको हो, मनसुनी वायु सक्रिय बन्न सकेको छैन।

नेपालमा बंगालको खाडीबाट आउने मनसुनी वायुलाई पूर्वी एसियातर्फ (फिलिपिन्स, ताइवानजस्ता देशहरू) बनेको न्यूनचापीय प्रणालीले आफूतर्फ तानेपछि नेपालमा प्रवेश गर्न नसकेको मौसमविद्हरूको भनाइ छ। तर हाल बंगालको खाडीमा पुनः न्यूनचापीय प्रणाली विकास हुँदै गएकाले केही दिनभित्रै मनसुन पश्चिमतर्फ फैलिनसक्ने अनुमान गरिएको छ। मौसमविद् गोविन्द झाका अनुसार भोलिदेखि नै मनसुनी प्रभाव देखिन थालेको महसुस हुनेछ र आंशिक वर्षा सुरु भई गर्मीबाट केही राहत मिल्ने सम्भावना छ।

सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागहरूमा अहिले नै हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षा भइरहेको छ। यद्यपि, पूर्णरूपमा सक्रिय मनसुन कहिलेदेखि हुने भन्ने विषयमा यकिन गर्न नसकिएको मौसम विभागले जनाएको छ। विभागले यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ, जसले पहिरो, बाढी, डुबानजस्ता प्राकृतिक प्रकोपको जोखिम पनि बढाउने विज्ञहरूको चेतावनी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्