जर्मनीमा जनजीवन सामान्य बन्दै, व्यवसाय र विद्यालयहरु खोल्ने तयारी

काठमाडौं – कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सामान्य तुल्याउन जर्मनीमा यो महिनाभर विभिन्न कार्यहरु अघि बढाइने भएको छ ।

केही हप्तासम्म लकडाउन भएसँगै देशभरका व्यवसाय र विद्यालयहरु बन्द रहेका छन् । सरकारले यसै महिनाभित्र पसल र विद्यालय खोल्ने कार्ययोजना तयार पारेको छ ।

गत अप्रिल २० बाट गरिएको आंशिक लकडाउन निकै प्रभावकारी भएको र नयाँ संक्रमणका घटनाहरु निरन्तर घट्दै गएको भन्दै सरकारले तयार पारेको एक प्रतिवेदनमा अब देशका व्यवसाय र विद्यालयहरु खोल्ने रणनीति बनाइने उल्लेख छ ।

परीक्षाको तयारीमा रहेका बालबालिकाका लागि विद्यालयहरु हाल संचालनमा आइसकेका छन् । तर शिशु कक्षा र प्राथमिक विद्यालयहरु अर्को हप्ताबाट खुल्नेछन् ।

जर्मन चान्सलर एन्जेला मर्केल र जर्मनीका १६ वटा संघीय राज्यका प्रमुखहरुले बुधबार विद्यालय र व्यवसाय खोल्ने सम्बन्धी एक दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।

विश्वविद्यालयहरु खोल्ने विषयमा भने सम्बन्धित राज्यले निर्णय गर्नेछन् । सबैजसो राजनीतिज्ञहरुले सबैजसो पसल व्यवसाय खोल्न सकिने तर सरसफाइ, प्रवेश र सामाजिक दूरीजस्ता विषयलाई प्रमुख रुपमा ध्यान दिन आग्रह गरेका छन् ।

हालसम्म पसलको जमिनको सतह ८०० वर्गमिटर (८ हजार ६०० वर्गफिट) सम्म रहेका पसलहरु मात्र खोल्न अनुमति दिइएको छ । रेष्टुराँहरु आगामी मे ९ बाट खोल्न सकिने तर त्यसको निर्णय गर्ने अधिकार राज्यहरुलाई दिइएको छ । यदि सात दिनभित्र प्रति एक लाख जनसंख्यामा ५० जनाभन्दा बढी नयाँ संक्रमित व्यक्ति भेटिए सम्बन्धित नगर वा जिल्लामा लकडाउन गरिने छ ।–NTV 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्