शुल्क नलिन, पठनपाठन र परीक्षा सञ्चालन नगर्न–नगराउन निर्देशन

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न–नगराउन निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले मुुलुकभर कोरोना सङ्क्रमणको आँकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न(नगराउने व्यवस्था गर्नका लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा सांसदले केही निजी विद्यालयले विद्यार्थी भर्ना लिन शुरु गरेको, अनलाइन कक्षा शुरु गरेको, शुल्क लिन थालेको भन्ने गुनासो सुनिएकाले यसलाई तत्काल रोक्नुपर्ने बताएका थिए ।

साथै उनीहरुले मुलुकका सबै क्षेत्रमा सूचना प्रविधिको पँहुच नपुगेको र सबै विद्यार्थीको आर्थिक हैसियत पनि नपुग्ने भन्दै अनलाइन कक्षामार्फत पठनपाठन शुरु गरे विद्यार्थीमाथि पक्षपात व्यवहार हुने विचार व्यक्त गरेका थिए ।

यद्यपि उनीहरुले अनलाइनमार्फत शिक्षक र विद्यार्थीबीच अन्तरकृया गरी सिर्जनशील बनाउन सिकाउने, बालबालिकालाई व्यस्त बनाउन सकिने धारणा व्यक्त गरे ।

बैठकले कोरोना सङ्क्रमणका कारण एसइई, कक्षा ११ र कक्षा १२ का परीक्षा सञ्चालन हुने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै तत्काल परीक्षा सञ्चालन नगराउनसमेत निर्देशन दिएको छ ।

बैठकले सम्बन्धित विज्ञसँग आवश्यक परामर्श र छलफल गरी विद्यार्थीको भर्ना, पठनपाठन र परीक्षा सञ्चालन गर्नेबारेमा विस्तृत खाका बनाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकमा सांसद खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, गगनकुमार थापा, नवीना लामा, भैरवबहादुर सिंह, सुरेशकुमार राई, अन्जना विशंखे, नमिता चौधरीलगालयतले आफ्ना धारणा व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्