काठमाडौं, ५ पुस । काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको हो।
उनले वेश्याबृत्ति तथा यौनजन्य कार्यमा लगाइएका नावालिकाहरूलाई उद्धारगरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई फकाएर होटल/गेष्ट हाउसहरुमा वेटर तथा सरसफाइको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको पाइएको छ।
बालिकालाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएबापत ग्राहकबाट प्रति व्यक्ति पाँच हजारदेखि ७ हजारसम्म लिने गरेको खुलेको छ।
बालिकाहरुलाई एकै लहरमा राखेर ग्राहकलाई रोज्न लगाउने र रेट निर्धारण गरी यौनजन्य क्रियाकलापका लागि पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको हो।
पीडित बालिकाको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएको अवस्थामा भेटिएका उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित आवासगृहमा राखेको छ।