नैनसिंह महरले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसलाई समयसापेक्ष, जनमुखी र प्रभावशाली पार्टीका रूपमा अघि बढाउने एजेन्डासहित आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको महरले बताएका छन्।

बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको संगठन र कार्यशैलीमा रूपान्तरण आवश्यक रहेको भन्दै महरले कांग्रेसलाई नयाँ ढंगले अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। गाउँदेखि सहरसम्मका नागरिकका समस्या बुझ्दै विभिन्न पुस्तालाई जोडेर पार्टीलाई अघि बढाउन आफूले भूमिका खेल्न सक्ने उनको भनाइ छ।

नेपाल विद्यार्थी संघको अध्यक्षका रूपमा काम गरिसकेका महरले करिब दुई दशक विद्यार्थी राजनीतिमा बिताएको अनुभवलाई पार्टी नेतृत्वमा उपयोग गर्ने बताएका छन्। विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा काम गरेको अनुभवका आधारमा कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन आफू सक्षम रहेको उनको दाबी छ।

महामन्त्रीको उम्मेदवारीलाई लक्षित गर्दै महरले प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्तासँगको भेटघाट र छलफललाई तीव्र बनाएका छन्। उनको गृहजिल्ला डडेल्धुरा कांग्रेसले यसअघि नै महरलाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

महाधिवेशन प्रतिनिधि चयनका लागि विभिन्न जिल्लामा निर्वाचन भइरहेका बेला महरले नेता तथा कार्यकर्तासँग भेटघाट गरिरहेका छन्। पछिल्लो समय उनले धनगढी, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर र चितवनका कांग्रेस नेता–कार्यकर्तासँग भेटघाट गरिसकेको बताइएको छ।

कांग्रेसमा गुट–उपगुट निर्माण गर्न नहुने र नेतृत्व चयनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने महरको धारणा छ। पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसलाई प्रभावशाली राजनीतिक शक्तिका रूपमा अघि बढाउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।

राजनीतिशास्त्रमा एमफिल गरेका महर हाल पीएचडी अध्ययनरत छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकालमा उनले पार्टीको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी ‘स्कुल अफ डेमोक्रेसी’का संस्थापकसमेत हुन्।

महर नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सभापतिसमेत हुन्। उनका ‘शिक्षाका चुनौतीहरू’, ‘नेपाली कांग्रेस र भ्रातृ संगठन’, ‘अबको कांग्रेस’, ‘संकल्प’ र ‘काण्डैकाण्ड–महाकाण्ड’ लगायतका पुस्तक प्रकाशित छन्।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २१ गतेसम्म आयोजना हुँदैछ। महामन्त्री पदमा महरको उम्मेदवारीसँगै कांग्रेसभित्र नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्