कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आयो : शंकर पोखरेल

तस्बिर: सुजन गुरुङ

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे। त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू एउटै आन्दोलनमा सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए।

‘थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै हुनुहुन्थ्यो। त्रिचन्द्र क्याम्पसको सभाबाट हामीसँगै उभिनुभएको थियो। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने। उनले विगतमा लोकतन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर निरंकुश शासनविरुद्ध संघर्ष गरेको स्मरण गर्दै फेरि लोकतन्त्रको रक्षाका लागि सामूहिक रूपमा अघि बढ्नुपर्ने अवस्था आएको बताए।

‘जसरी हिजो हामी नेपालका वामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणा शासनलाई परास्त गरेका थियौँ, पञ्चायतलाई परास्त गरेका थियौँ र राजा ज्ञानेन्द्रको तानाशाही शासनलाई परास्त गरेका थियौँ, त्यसैगरी लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ,’ उनले भने। पोखरेलले नेपालको राजनीति अहिले विभिन्न चुनौतीबीच अघि बढिरहेको उल्लेख गर्दै प्राकृतिक विपद् तथा भावी चुनौतीको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।

जलवायु परिवर्तनका कारण नेपाल चरम संकटमा परेको उल्लेख गर्दै उनले पछिल्ला प्राकृतिक विपद्ले मुलुकमा ठूलो क्षति पुर्‍याएको बताए। लाङटाङ हिमालमा गएको हिमपहिरो तथा भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीको प्रसंग उल्लेख गर्दै उनले विपद्बाट ठूलो जनधनको क्षति भएको बताए। ‘अहिले पनि ६ हजारभन्दा बढी दिदीबहिनी–दाजुभाइहरू बेपत्ता हुनुहुन्छ,’ पोखरेलले भने, ‘आज जुन हिसाबले वातावरणमा परिवर्तन भइरहेको छ, हाम्रा हिमालहरू तातिरहेका छन्। यसले हाम्रो भविष्यलाई असुरक्षित बनाइरहेको अवस्थामा हामीले नेपालको सुरक्षित भविष्यको यात्रा कसरी कोर्छौं ?’

उनले जलवायु न्यायको प्रश्न नेपालका लागि साझा प्रश्न भएको बताए। साथै राजनीतिक द्वन्द्वका कारण नेपालको भविष्यबारे समेत गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै देशको सुरक्षित र समृद्ध भविष्यका लागि प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्