अनुषा थापा, भक्तपुर
काठमाडौंको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको ठगीधन्दा पर्दाफास भएको छ । सहकारी खोलेर विगत दुई दशकभन्दा लामो समयदेखि लुटतन्त्र मच्चाउँदै आएको सिन्सियरको कर्तुत छरपष्ट भएको हो । २०५७ मंसिर २९ गते दर्ता भएर सञ्चालनमा आएको संस्थाले दुई दशकको अवधिमा हजारौंलाई बिल्लीबाठ बनाइसकेको छ । तर, गुण्डा पालेर राखेको संस्थाको विरोधमा बोल्ने आँट कसैले गर्न सकेका छैनन् ।
राजधानीकै स्थायी बासिन्दा राजेन्द्रभक्त श्रेष्ठ अध्यक्ष रहेको सहकारी उच्च पदस्थहरुको कालो धन राख्ने थलो हो । सहकारीको कार्यकारी सञ्चालकमा राजेश खड्का र कर्जा अधिकृतमा मीरा कर्माचार्य छन् । यिनीहरुले बुनेको जाल बुझ्न नसक्दा धेरैले आफ्नो घरखेत उडाएका छन् । करोडपतिहरु रोडपति बनेका छन् । संस्था स्थापना गरेदेखि थालेको लुटको धन्दा अझैपनि जारी छ ।
सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्नका लागि सरकारले ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने सरकारी नारासहित सहकारी खोल्ने इजाजत दियो । तर, खराब नियतका सहकारी सञ्चालकका कारण ऋणी र निक्षेपकर्ता दुवैलाई ‘मर्न न बाँच्नु’ को अवस्था सिर्जना भएको छ । सहकारी गुण्डागर्दी गर्नेको कब्जामा पुगेको छ । जसले गर्दा सीधासाधीहरु उम्किन नसक्ने गरी फस्दै आएका छन् ।
अर्थ नीतिमा तीन खम्बे भनिएका सहकारीमा नियमन नहुँदाको अवस्था अहिले प्रष्टै छ । सहकारी पीडितहरु विस्तारै बाहिर आउन थालेका छन् । सहकारी सञ्चालकहरुले देखाएको त्रास तोडेर उनीहरु आफ्नो हकहितका लागि आवाज उठाउँदै छन् । सहकारीले सबै हड्पेपछि आत्महत्याको बाटो रोजेको घटनाहरु यहाँ थुप्रै छन् । सिन्सियरबाट धेरै पीडित बने तर कानुनमा जानुपर्छ भन्ने थाहा नभएकाले उनीहरु मौन बसे ।
सहकारी पीडितहरु बाहिर आउन थालेसंगै उनीहरुले पनि मुख खोल्न थालेका छन् । ‘सिन्सियरले धेरै ऋणीहरुलाई घर न घाटको बनाएको छ । विस्थापित हुने त असंख्य छन् । कतिलाई आत्महत्या गर्नैपर्ने अवस्थामा समेत पुर्यायो । सबैतिर उसकै चल्ने भएकाले कसैले मुख खोल्ने आँट नै गरेनन् । कार्यालयमै गुण्डा बोलाएर कतिपयको टाउकोसमेत फुटाएको छ’, एक जना पीडितले भने ।
काठमाडौंमा एउटा रिकण्डिशन सञ्चालन गरेर बसेका व्यापारी सिन्सियरको कारणले विस्थापित नै भए । इलामका प्रेमप्रसाद आचार्यझैं उनलाई सिन्सियरले ‘आत्मदाह’ गर्नैपर्ने अवस्थामा पुर्याएको थियो । यता, प्रहरीका एक अधिकृत त सिन्सियरबाट सर्वस्व लुटिएपछि मानसिक रोगको शिकार बने । उनको दिमागी हालत ठिक छैन् । किस्ता तिर्दातिर्दै पनि सिन्सियरले धितो खाइदिएपछि कति सडकमा पुगे ।
धेरै भूमिगत गए । त्यहाँबाट ऋण लिएर व्यवसाय गर्नेहरुको अहिले कुनै ठेगान छैन् । मीटरब्याजमा पैसा लगाउने काम सिन्सियरमा हुन्छ । सिन्सियरका तीन हर्ताकर्तार्ल भित्रभित्रै व्यापारीको माध्यमबाट मीटरब्याजमा लगानी गर्ने गरिएको छ । एक लाखको मासिक पाँच हजारदेखि ३० हजार रुपैयाँसम्म ब्याजमा पैसा दिने सिन्सियरमा अवैध कारोबार मौलाएको छ । बचतकर्ताले ब्याज खान जम्मा गरेको रकम सिन्सियरले व्यापारीलाई खटाएर आवश्यक परेकालाई मीटरब्याजमा लगाउन दिने गरिन्छ । बीचमा बसेर व्यापारीले पनि दलाल गर्छन् । सिन्सियर र केही बाठाटाठा व्यापारी मोटाइरहेका छन् भने सीधासाधी व्यक्तिहरु दिनदहाडै लुटिएका छन् ।
त्यसैगरी, घरजग्गा, थोत्रा ट्याक्सी र सेयरमा पनि सिन्सियरको थुप्रो लगानी छ । सहकारीले सेयर धितो राखेर कर्जा दिनु स्वाभाविकै हो । तर, सिन्सियरले जम्मा भएको रकमले आफैं सेयर किन्दै, नाफा खाने गरेको छ । सिन्सियरको सबैभन्दा धेरै लगानी ट्याक्सीमा छ । ट्याक्सी चालकहरु धेरै पढलेख नभएका हुने भएकाले सिन्सियरले उनीहरुलाई मँहगो ब्याजमा कर्जा दिँदै आएको छ ।
सरकारले २० वर्ष पूराना ट्याक्सी विस्थापन गर्ने भनेर कानुन बनाएर राजपत्रमा निकालिसकेको छ । अब २० वर्ष पुगेका गाडीहरुको नामसारी हुँदैन् । सरकारले नामसारी बन्द गरिसकेको छ । यता, सरकारले राजस्व लिन पनि छोडिसकेको छ । अधिवक्ता राखेर कागज गरेर किनबेच गर्दा अहिले थ्री–फोरको गाडी दुईदेखि तीन लाख आँउछ । तर, सिन्सियरले यो मोडलको एउटा गाडीमा १३ देखि १५ लाख लगानी गरेको छ । सहकारी ले यस्ता गाडीबाट यत्रो पैसा कसरी उठाउँछ ?
ट्याक्सीमा लगानी सिन्सियरका लागि भारी पर्यो । सिन्सियर ट्याक्सीकै कारण चुलुम्मै डुब्ने अवस्थामा पुग्यो । हिजो एउटा ट्याक्सीलाई कर्जा दिने बेलामा सिन्सियरका तीन हर्ताकर्ताले २५ हजार रुपैयाँ घुस लिएको छ, त्योपनि सेवाशुल्क बाहेक । ट्याक्सी धितो राखेर १० लाख रुपैयाँ कर्जा दिएबापत यिनीहरुले यत्रो घुस सजिलै पचाइरहेका थिए । उता, दुई प्रतिशत सेवाशुल्क पनि लिन्थे । घुस र सेवाशुल्कको प्रलोभनमा अन्धो बनेका यिनीहरुले यताउता केही नहेरी भकाभक ट्याक्सीलाई कर्जा दिए ।
त्यत्रो घुस दिएर कर्जा लिने ट्याक्सी चालकहरु चर्को ब्याज तिर्न नसकेर डुबे । तीन किस्ता नतिर्नेबित्तिकै सिन्सियरले चालक र ट्याक्सी व्यापारीको ट्याक्सी तानेर लग्यो । सिन्सियरले गाडी तानेर लगेपछि अधिकांश विस्थापित भए । चर्को घुस सिन्सियरका अधिकृतहरुले खाए तर सीधासाधी ट्याक्सी व्यापारी र चालकलाई सुकुम्बासी बनाइदियो । सिन्सियरका कारण धेरै ट्याक्सी चालक र व्यापारीको घरपरिवार तहसनहस बनेको छ । अधिकांश भाग्नुपर्ने अवस्थामा सिन्सियरले पुर्याइदियो । सिन्सियरले गाडी तान्ने बेलामा गुण्डा पठाउँछ, एउटा गाडी तानेको ३० हजार दिन्छन् ।
सहकारी ऐनमा उल्लेख भएअनुसार ऋण तिर्नका लागि पहिले ३५ दिने सूचना जारी गर्नुपर्छ त्यो पनि राष्ट्रिय स्तरको पत्रपत्रिकामा । त्यस्तै, धितो लिलाम गर्नुअघि पत्रिकामा ऋणीको तीन पुस्ते र फोटो पत्रिकामा निकाल्नुपर्छ । तर, सिन्सियरले त्यस्तो गर्दैन् । सहकारी ऐनको धज्जी उडाउँदै सिन्सियरले ३५ दिने सूचना र तीन पुस्ते सार्वजनिक गर्ने गरेको छैन् । धितो रोक्का राखेर ऋण लिने बेलैमा ऋणीको मञ्जुरी लिइसकेको सिन्सियरको हुने ठगीधन्दाको नालीबेली सुनाएर साध्य छैन् ।
ब्याजसमेत २२ देखि ४८ प्रतिशतसम्म लिँदै आएको छ । पाँचदेखि सात वर्षको अवधिका लागि तोकेर दिइएको ऋण सकेसम्म छिटो उठाउन खोज्छ । जति अवधिका लागि दिइएको हो, त्यति चलाउन दिँइदैन् । एकचोटिमा दुई प्रतिशत नवीकरण शुल्क लिने गरेको छ । सिन्सियरको उद्धेश्य नै ऋणीलाई उठीबास लगाएर कमाउनु हो ।
निक्षेपकर्ताको उठीबास लगाउँदै सिन्सियर
सिन्सियर निक्षेपकर्ताको निक्षेप फिर्ता दिन नसक्ने अवस्थामा पुगिसकेको छ । महिनौंदेखि निक्षेपकर्ताहरुले ब्याज पाउन सकेका छैनन् । अन्य सहकारीझैं सिन्सियर पनि नाजुक अवस्थामा पुगिसकेको छ । अरुलाई ‘धोती न टोपी’ बनाएर कमाएको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेसंगै त्यहाँ बचतकर्ताको ओइरो लागेको छ । दिनभरि कार्यालय आउने र रित्तो हात घर फर्किने काम मात्रै भएको निक्षेपकर्ताहरु बताउँछन् । बचत फिर्ता नपाएपछि त्यहाँका बचतकर्ताको रातको निद्रा र दिनको भोक हराएको छ । उनीहरुले सहकारी विभाग गुहार्ने तयारी गरेका छन् ।