पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग प्रचण्डकाे छलफल, के-के भयाे छलफल ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् ।

नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे छलफल गरेका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डसहित सबै स्थायी कमिटी सदस्यले पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘पार्टी एकता जोगाउने मात्र होइन, विभाजन गर्न खोज्नेहरुलाई निरत्साहित गर्नुपर्छ भन्नेमा सबैको एकमत छ’ एक नेताले भने ।

मंसिरमा पार्टी महाधिवेशन गर्ने अर्का अध्यक्ष ओलीको प्रस्तावमा सहमत हुन नसक्ने प्रचण्डले बताएका छन् ।

शनिबार भएको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । महाधिवेशनबाट प्रचण्डलाई अध्यक्ष बनाउने तर जनताको बहुदलीय जनवाद (जबज)लाई स्वीकार गर्नुपर्ने ओलीको प्रस्ताव रहेको प्रचण्डले सुनाए ।
बैठकले जारी स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काउने र एउटा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ । प्रचण्ड निवासमा भएको बैठकमा रामबहादुर थापा बादल र लेखराज भट्ट भने सहभागी थिएनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्