काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले दिएको म्याण्डेट अनुसार पार्टी पाँच वर्ष प्रतिपक्षमा बस्ने प्रष्ट पारेको छ ।
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक कलह चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव राखेको चर्चा बाहिर आएको थियो । तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘उहाँहरु आपसमा हल खोज्न नसक्ने र कांग्रेसको टेको टेक्नुपर्ने अवस्थामा पुग्नु भएको छ जस्तो छ हामीलाई लाग्दैन ।’
त्यस्तो प्रस्ताव आएको क्षणमा नै टिप्पणी गर्ने शर्माले बताए । तर प्रवक्ता शर्माले जनताले २०७४ को आम चुनावमा दिएको म्याण्डेटअनुसार ५ वर्ष कांग्रेस प्रतिपक्षमा बस्ने प्रष्ट पारे । शर्माले भने, ‘यो वा त्यो अवस्था उत्पन्न भएको अवस्थामा पनि यो कार्यकाल भर सिंहदरबारमा हामी माग राख्न खुट्टा टेकौंला, मन्त्रालय चलाउने गरी टेक्दैनौं ।’ उनले कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंकामा नरहन पार्टीका कार्यकर्तालाई समेत आग्रह गरे ।