कञ्चनपुरमा भारतीय पक्षले गरे हुलाकी राजमार्ग निर्माणमा अवरोध, भारतको दादागिरी कहिले सम्म ?

कञ्चनपुर – बेलौरी नगरपालिका–८ पचुईमा हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेका छन् ।

नेपाल–भारत सीमा पिल्लर नम्बर ३८ देखि स्थानीय खट्टीखोलासम्म २०० मिटर सडक कालोपत्रे गर्ने तयारी भएका बेला भारतीय अवरोधका कारण काम रोकिएको हो । सडक निर्माणको काम भइरहेका बेला ठूलो संख्यामा आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले काम रोकेको स्थानीयले बताएका छन् । नेपालको भूमिलाई उनीहरुले दशगजा भनेर अवरोध गरेका हुन् ।

भारतीय पक्षको अवरोधका कारण ३८ नम्बर पिल्लरदेखि खट्टीखोलासम्मको निर्माण कार्य प्रभावित भएको छ । बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाले पनि भारतीय अवरोधका कारण सडक निर्माण प्रभावित भएको बताए । ‘एकाएक ठुलो संख्यामा आएर काम रोक्न दबाब दिए’ उनले भने ‘दशगजा क्षेत्रमा परेको भन्दै विरोध गरेपछि अहिले काम रोकिएको छ ।’

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । ‘उनीहरू (भारतीय पक्ष) पहिलेदेखि नै त्यो क्षेत्रलाई दशगजा भन्दै आइरहेका छन् । यस बिषयमा संघीय सरकारले नै पहल गर्नुपर्छ’ उनले भने, ‘दीर्घकालीन रूपमा यसको समाधान खोज्न आवश्यक देखिन्छ ।’

तर, न नेपालले समस्या समाधानका लागि पहल गरेको छ, न भारतको दादागिरी कम भएको छ । भारतले कञ्चनपुरका दर्जन बढी क्षेत्रमा अतिक्रमण गरेको छ ।
भारतको यो दादागिरी अहिलेको मात्र नभइ पहिले देखिको हो । तर यस बारेमा नेपालसरकार पनि मौन बस्दै आएको छ । नेपाल भारतको सीमाना महाकाली नदी भनेपनि महाकाली नदी भन्दा निकै भित्र नेपाल तिर पनि भारतले आफ्नो जमिन भन्दै अतिक्रमण गरेको छ ।
२०७३ फागुन २६ मा कल्भर्ट निर्माणलाई लिएर भएको विवादमा भारतीय पक्षले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास–४ गोविन्द गौतमको ज्यान नै गएको थियो । सरकारले उनलाई शहीद घोषणा पनि गरिसकेको छ । तर भारतको दादागिरी भने रोकिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्