सरकारले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावटलाई १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत सोही लक्ष्य राखेकोमा निर्धारित लक्ष्यभन्दा राम्रो नतिजा हासिल भएको मन्त्रालयले जनाएको छ। विद्युत् चुहावट नियन्त्रणका लागि ऊर्जामन्त्री श्रेष्ठले नीतिगत तथा संरचनागत सुधारका क्षेत्रमा पहल गर्नुभएको मन्त्रालयको सचिवालयले जनाएको छ। विद्युत् नेटवर्कको स्तरोन्नति, नियमित मर्मतसम्भार तथा प्राविधिक पक्षको सुधारलाई प्राथमिकतामा राखेर चुहावट नियन्त्रणका काम अघि बढाइएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा लोड व्यवस्थापनसम्बन्धी समस्याका कारण विद्युत् चुहावट हुने गरेको छ। प्राविधिक समस्या देखिनासाथ तत्काल सम्बोधन गर्ने प्रणालीको विकास तथा नेटवर्क सुधारका कारण चुहावट नियन्त्रणमा सकारात्मक परिणाम देखिएको प्राधिकरणको भनाइ छ। अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३ दशमलव ८ प्रतिशत रहेको छ। यस्तो अवस्थामा नेपालको विद्युत् चुहावट १२ दशमलव १६ प्रतिशतमा सीमित हुनुलाई विद्युत् वितरण तथा व्यवस्थापन सुधारको सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।






