सर्वोच्च अदालतका चार प्रस्तावित न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

 

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

समितिको आज बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो।

न्याय परिषद्ले गत असोज २० गते उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित चारै जना न्यायाधीशको सुनुवाइ प्रक्रिया कात्तिक १९ गतेदेखि सुरु गरेको थियो।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशहरूविरुद्ध १३ वटा उजुरी परेका थिए। समितिले उजुरीमाथि अध्ययन तथा सुनुवाइ प्रक्रिया पूरा गरेपछि चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

संवैधानिक व्यवस्थाअनुसार न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।

समितिबाट नाम अनुमोदन भएसँगै अब चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्