नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म

काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपत्कालीन राहतकर्मी, युक्रेनका बालअधिकार अभियन्तालगायत विभिन्न व्यक्ति तथा संस्थाको नाम चर्चामा आएको छ । सम्भावित दाबेदारको चर्चामा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसमेत परेको छ ।

यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि कुल २८७ जना उम्मेदवार मनोनयनमा परेका छन् । नर्वेजियन नोबेल समितिले आगामी अक्टोबर ९ अर्थात् शुक्रबार शान्ति पुरस्कारको विजेता घोषणा गर्नेछ । यद्यपि समितिले औपचारिक रूपमा सम्भावित विजेताको सूची सार्वजनिक गर्ने गरेको छैन । त्यसैले सार्वजनिक रूपमा चर्चामा आएका नामहरू अनुमान तथा विश्लेषणमा आधारित छन् ।

सम्भावित दाबेदारको सूचीमा युक्रेनी बालअधिकार अभियन्ता माइकोला कुलेबा, ‘सेभ द चिल्ड्रेन’, सुडानको आपत्कालीन प्रतिक्रिया कक्ष तथा पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताका क्षेत्रमा काम गर्ने ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’ पनि रहेका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नामसमेत सम्भावित दाबेदारका रूपमा चर्चामा आएको छ । शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लोउले अन्तर्राष्ट्रिय सहकार्य कमजोर बन्दै गइरहेको अवस्थामा विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीकका रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई हेर्न सकिने बताएका छन् । समाचार संस्था एपीका अनुसार यही कारण अन्तरिक्ष स्टेसन पनि यस वर्षको नोबेल शान्ति पुरस्कारको चर्चामा आएको हो ।

यस वर्षको शान्ति पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ । नोबेल पुरस्कारको घोषणा शृङ्खला आगामी सोमबार चिकित्सा शास्त्रको पुरस्कारबाट सुरु हुनेछ भने नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार गरिनेछ । यस वर्ष नोबेल शान्ति पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्