काठमाडौं । चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन्। साल्ट ट्रेडिङले उपत्यकासहित देशका विभिन्न स्थानमा ४५ बिक्री केन्द्रबाट सेवा सुरु गरेको जनाएको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४४ जिल्लाका १९३ बिक्री केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यवस्तु बिक्री गरिरहेको छ।
साल्ट ट्रेडिङले गत असोज १ गतेदेखि काठमाडौं उपत्यकामा १५ बिक्री केन्द्र र तीन मोबाइल भ्यानसहित १८ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो। कर्पोरेसनले चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ तथा खानेतेल, चामल, चिउरा र पिठोलगायतका वस्तुमा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाएको छ।

कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार उपत्यकामा कालीमाटीस्थित केन्द्रीय कार्यालय, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल र स्वयम्भूलगायतका बिक्री केन्द्रबाट छुट मूल्यमा खाद्यवस्तु उपलब्ध गराइएको छ। माग भएका स्थानमा खाद्यवस्तु पुर्याउन तीनवटा मोबाइल भ्यानसमेत तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार उपत्यकाबाहिरका २७ जिल्लामा रहेका बिक्री केन्द्र तथा विभिन्न स्थानीय तहबाट प्राप्त मागका आधारमा पनि सहुलियत मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने तयारी गरिएको छ। कर्पोरेसनले सञ्चालन गरेका पसलबाट चिनी प्रतिकिलो १०० रुपैयाँमा प्रतिव्यक्ति अधिकतम दुई किलोसम्म खरिद गर्न सकिने व्यवस्था गरिएको छ। सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले कर्पोरेसनलाई एक करोड रुपैयाँ शोधभर्ना उपलब्ध गराउने जनाइएको छ।

यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत साउनको अन्तिम सातादेखि नै देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो। कम्पनीको सातौँ वार्षिकोत्सवका अवसरमा सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत ४४ जिल्लाका १९३ बिक्री केन्द्रबाट प्रतिकिलो वा प्रतिलिटर पाँच रुपैयाँ छुटमा खाद्यवस्तु बिक्री भइरहेको छ।
कम्पनीले चामल, दाल, तेल, चिनी र नुनसँगै चिनो, कागुनो, फापर र सिमीलगायत स्थानीय उत्पादनसमेत बिक्री गर्दै आएको छ। दुवै संस्थाले सञ्चालन गरेका सुपथ मूल्य पसलबाट चाडपर्वका बेला उपभोक्तालाई आर्थिक राहत पुग्नुका साथै दैनिक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।





