सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास बिक्री वितरण गर्ने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासको बिक्री वितरणमा सहजता ल्याउन सुरक्षा निकायका आउटलेटबाट समेत ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो ।

सचिव तामाङका अनुसार अहिले खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको असहजतालाई ध्यानमा राखेर सुरक्षा निकायमार्फत समेत ग्यास वितरण गर्न सकिने व्यवस्था मिलाउन लागिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका छन् ।

सुरक्षा निकायका पेट्रोलियम पदार्थ बिक्री गर्ने आउटलेटबाटै खाना पकाउने ग्याससमेत वितरण गर्न सके उपभोक्तालाई ग्यास प्राप्त गर्न सहज हुने सचिव तामाङले बताउनुभयो । ग्यासको आपूर्ति तथा वितरणमा देखिएको समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले आवश्यक प्रबन्ध मिलाउन लागिएको उहाँको भनाइ छ ।

उहाँले खाना पकाउने ग्यासको अभावलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्थापनलाई सहज बनाउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । सुरक्षा निकायका आउटलेटबाट ग्यास बिक्री वितरण गर्ने व्यवस्था कार्यान्वयनमा आएमा ग्यासको वितरण प्रणाली थप सहज हुने मन्त्रालयको अपेक्षा छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्