काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाल सरकारको सहभागिता र त्यस क्रममा उठाइएका विषयबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै मन्त्री खनालले महासभाको उच्चस्तरीय सप्ताहमा नेपालको सहभागिता, प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन तथा आफूले गरेका विभिन्न बहुपक्षीय र द्विपक्षीय भेटवार्ताबारे जानकारी दिएका हुन्। महासभाको उच्चस्तरीय सप्ताह २२ देखि २८ सेप्टेम्बर २०२६ सम्म न्यूयोर्कमा भएको थियो।
महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै बाढीबाट भएको जनधनको क्षति, पूर्वाधार तथा जनजीविकामा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको मन्त्री खनालले बताए। प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तन, विपद् तथा त्यसबाट विकासमा परेको असरका विषय उठाइएको थियो।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु संकटलाई नेपालको विकास र मानवीय सुरक्षासँग जोडेर अन्तर्राष्ट्रिय समुदायसमक्ष विषय राखेका थिए।
ऐतिहासिक रूपमा बढी उत्सर्जन गरेका तथा बढी स्रोतसाधन भएका मुलुकहरूले जलवायु संकट समाधानमा थप जिम्मेवारी लिनुपर्ने र जलवायु न्यायलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने नेपालको धारणा महासभामा प्रस्तुत गरिएको मन्त्री खनालले बताए। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले जलवायु वित्त तथा Loss and Damage Fund लगायतका संयन्त्रबाट स्रोत परिचालन सहज बनाउनसमेत अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए।
मन्त्री खनालले महासभाका क्रममा अतिकम विकसित मुलुक (LDCs), भूपरिवेष्ठित विकासशील मुलुक (LLDCs), समुद्री सतह वृद्धि, शान्ति निर्माण तथा विवादको शान्तिपूर्ण समाधानलगायत विषयमा भएका उच्चस्तरीय बैठकमा नेपालको धारणा प्रस्तुत गरेको जानकारी दिए। उनले महासभासँगै विभिन्न साइडलाइन बैठक तथा भेटवार्तामा समेत सहभागिता जनाएको बताए।
परराष्ट्र मन्त्रालयका अनुसार महासभाको अवधिमा नेपाली प्रतिनिधिमण्डलले ८० भन्दा बढी बैठकमा सहभागिता जनाएको थियो। नेपालले आयोजना गरेको “Sagarmatha to the Sea: A Call to Action for a Climate-Resilient Future” कार्यक्रममार्फत जलवायु उत्थानशीलता र जलवायु न्यायका विषय पनि उठाइएको थियो।




