दोलखालाई बागमती प्रदेशको प्रमुख पर्यटकीय केन्द्र बनाउने होटल व्यवसायीको अभियान

 

दोलखा । दोलखाको पर्यटन विकासलाई तीव्रता दिँदै जिल्लालाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित होटल तथा पर्यटन व्यवसायीहरूले अभियान अघि बढाएका छन्।

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभा भीमेश्वर नगरपालिका–चरिकोटस्थित सातदोबाटोको दरबार पार्टी प्यालेसमा सम्पन्न भएको छ। साधारण सभामा संघका उपाध्यक्ष विनोद जिरेलले स्वागत तथा शुभकामना मन्तव्य राख्दै दोलखालाई बागमती प्रदेशको पर्यटन राजधानीका रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारे।

दोलखा प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले बागमती प्रदेशका अन्य जिल्लाभन्दा समेत प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले त्यसको व्यवस्थित प्रचारप्रसार र पूर्वाधार विकास गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्।

साधारण सभाले दोलखाको पर्यटनलाई थप व्यवस्थित, व्यावसायिक र दिगो बनाउँदै जिल्लाको आर्थिक समृद्धिसँग जोड्ने विषयलाई प्राथमिकतामा राखेको छ। जिल्लामा रहेका पर्यटकीय गन्तव्यलाई एकीकृत रूपमा विकास गर्दै दोलखालाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य अघि सारिएको हो।

कार्यक्रममा दरबार पार्टी प्यालेस तथा एसएस किङ्सका सञ्चालक शंकर बस्नेतलाई उत्कृष्ट पर्यटन तथा होटल व्यवसायीका रूपमा सम्मान गरिएको थियो। पर्यटन तथा होटल व्यवसायमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो।

साधारण सभामा होटल तथा पर्यटन व्यवसायी, संघका पदाधिकारी तथा सदस्य, स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका सरोकारवाला तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले दोलखा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति तथा साहसिक पर्यटनका दृष्टिले सम्भावनै सम्भावना बोकेको जिल्ला भएको बताए। जिल्लाका पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारप्रसारसँगै सडक, यातायात, खानेपानी, सञ्चार तथा अन्य आवश्यक पूर्वाधारको विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढाउन सकिने उनीहरूको भनाइ थियो।

दोलखाका कालिञ्चोक, शैलुङ, जिरी, रोल्वालिङ, गौरीशंकर, भीमेश्वर, तामाकोशी, बिगु तथा लाप्चीलगायतका पर्यटकीय क्षेत्रलाई जोडेर एकीकृत पर्यटन प्याकेज निर्माण गर्नुपर्नेमा समेत जोड दिइएको छ। पर्यटकलाई जिल्लामा भित्र्याउने मात्र नभई उनीहरूको बसाइ अवधि लम्ब्याउने गरी पर्यटन गतिविधि विस्तार गर्नुपर्ने व्यवसायीहरूको धारणा छ।

साधारण सभामा पर्यटन पूर्वाधार निर्माण, सडक तथा यातायातको सहजता, होटल तथा पर्यटन सेवाको गुणस्तर सुधार, व्यवसायीको क्षमता अभिवृद्धि, सीपमूलक तालिम, डिजिटल माध्यमबाट पर्यटन प्रचारप्रसार तथा स्थानीय उत्पादनको प्रवर्द्धनलगायतका विषयमा समेत छलफल भएको थियो।

संघका अध्यक्ष कुमार श्रेष्ठले दोलखाको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मको सहकार्य आवश्यक रहेको उल्लेख गरे। जिल्लामा रहेका पर्यटन सम्भावनालाई व्यवहारमा उतार्न सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायबीच साझा योजना र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

साधारण सभाले संघको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्षका लागि विभिन्न कार्ययोजना तय गरेको छ। पर्यटन व्यवसायीका समस्या समाधान, सेवा गुणस्तर सुधार, पर्यटन प्रवर्द्धनका कार्यक्रम विस्तार तथा पर्यटक आगमन बढाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ।

यसैबीच, साधारण सभाले ‘दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ’ नाम र विधान संशोधन गरी ‘होटल संघ दोलखा’ कायम गर्ने निर्णयसमेत गरेको छ।

होटल व्यवसायीहरूले दोलखाको पर्यटनलाई जिल्लाको आर्थिक विकासको प्रमुख आधार बनाउँदै व्यवसायीको हित संरक्षण, पर्यटन पूर्वाधार विकास र पर्यटकमैत्री सेवा विस्तारमार्फत दोलखालाई बागमती प्रदेशको आकर्षक तथा प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्