लोकमार्ग अवरोध प्रहरीले खुलायो

सुशील सुवेदी
सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत निर्माणाधिन मध्यपहाडी लोकमार्गको एक्लेबेशीमा नगरपालिकाको दहत्तरबहत्तरको कर संकलन गर्ने ठेक्का अनुमती पाएको काली निर्माण सेवाले गरेको सडक अवरोध प्रहरीले खुलाएको छ ।

जिल्ला समन्वय समितिको संयोजनमा बैशाख १५ गते जिल्लाबाट प्रतिनिधित्व गर्ने संघिय सांसद,प्रदेशसभा सांसद,स्थानिय तहका पदाधिकारी,राजनितिक दलका प्रतिनिधि,सरकारी अधिकारीहरु सहितको संयुक्त बैठकले लकडाउनको पालना गर्दै सामाजिक दुरीलाई ख्याल गर्दै विकास निर्माणका काम संचालन गर्ने निर्णय गरेको थियो ।

निर्णयअनुसार निर्माण व्यबसायीहरुले पास लिएर निर्माण सामग्री ढुवानी गर्न समेत थालिसकेका छन् । तर चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत इन्द्रावती नदी तर्फको दहत्तरबहत्तरको ठेक्का पाएको काली निर्माण सेवाले भने सामग्री ढुवानीमा अवरोध खडा गरेको थियो ।

निर्माण सामग्री ढुवानी गर्न नदिन सडकमा ठुलाठुला ढुङ्गा राखेर अवरोध खडा गरेको ठेकेदार कम्पनीले ट्रिपरलाई समेत आउजाउ नगर्न चेतावनी दिएको एक चालकले बताए । काली निर्माण सेवाका प्रोपाइटर हेम बहादुर बुढाथोकीसँग बुझ्दा उनले सडक अवरुद्द गरेको कुरा स्विकार गरे । उनले भने “हामीले लकडाउन अवधिमा रसिद काट्दैनौँ । रसिद नकाटी जाने ट्रिपरलाई प्रहरीमा खबर गर्छाैँ, प्रहरीले जे गर्छ गर्छ ।”

सडक अवरुद्द गरिएको बिषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख तथा एसपी प्रज्वल महर्जनले कसैले पनि सडक अवरुद्द गर्न नपाइने र त्यस बिषयमा आवश्यक जानकारी लिने बताए । प्रहरी प्रमुख महर्जनसँगको कुराकानीपछि प्रहरी चौकी साँगाचोकबाट प्रहरी सहायक निरिक्षक रामशरण तामाङ्गको नेतृत्वमा गएको टोलीले क्रसरबाट लोडर ल्याइ अवरुद्द सडक खुलाएको हो ।

प्र.स.नि. तामाङ्गले ठेकेदार बुढाथोकीलाई यसरी सडक अवरोध नगर्न र अब आइन्दा सडक अवरोध गरेमा नियन्त्रणमा लिएर मुद्दा चलाइने कुराको जानकारी गराएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्