सिन्धुपाल्चोकका क्वारेन्टाइनमा बसेका १५० मध्ये ८६ जना घर फर्के

सुशील सुवेदी
सिन्धुपाल्चोक –कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकका विभिन्न क्वारेन्टाइनमा राखिएका १ सय ५० मध्ये ८६ जना घर फर्केका छन् । विदेशबाट फर्केकासहित देशका विभिन्न स्थानबाट गाउँ आएर बसेका मध्ये अब ६४ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन वार्डमा उनीहरुहरुलाई निगरानीमा राखिएको हो । क्वारेन्टाइनमा राखिएकाहरु बिदेशबाट फर्केका र विभिन्न जिल्लाबाट घर आएका श्रमिक रहेका छन् । क्वारेन्टाइनबाट घर फर्केकाहरुलाई दुई सातासम्म सुरक्षित राखिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए ।

बिदेशबाट फर्केकालाई मात्र नभएर मुलुककै अन्य जिल्लाबाट घर आएका श्रमिकलाई पनि क्वारेन्टाइनमा राख्न सरकारको निर्देशन थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चौतारा साँगाचोकगढी नगरपालिस्थित मेलचौरमा रहेको जिल्ला विपद व्यवस्थापनको भवनमा रहेको क्वारेन्टाइनमा सबैभन्दा धेरै छन् । मेलचौरमा रहेको क्वारेन्टाइनमा ३० जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरु विभिन्न जिल्लाबाट घर फर्केकाहरु हुन् ।

त्यस्तै जिल्ला समन्वय समितिमा हालै निर्माण गरिएको क्वारेन्टाइनमा १९ जना रहेका छन् । राजधानीलगायत विभिन्न स्थानबाट घर फिरेकाहरुलाई शनिबार समन्वयको क्वारेन्टाइनमा राखिएको हो । मेलम्ची नगरपालिकासहित इन्द्रावती, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिकाको संयूक्त क्वारेन्टाइन मेलम्चीस्थित होटल रिभर साइटमा १० जना र सुनकोशीस्थित ग्रामीण महिला सिर्जनशील परिवारको भवनमा बनाइएको क्वारेन्टाइनमा हाल ५ जना रहेका छन् ।

क्वारेन्टाइनमा रखिएकाहरु विदेश र मुलुकका अन्य जिल्लाबाट फर्किएका हुन् । क्वारेन्टाइनमा उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । ग्रामीण महिला सिर्जनशील परिवारको भवनमा रहेकाहरुलाई स्वस्थ्य परीक्षणका साथै निगरानीमा राखिएको अनमी अजिता खड्काले जानकारी दिइन् । उनका अनुसार स्वास्थ्यकर्मीले सरकारले तोकेको समयमा खाना तथा स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । सुनकोशीमा जस्तै अन्य सबै क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणका साथै सरकारले तोकेको मापदण्डअनुसार राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तह, स्वास्थ्य चौकी, विद्यालय, सामुदायिक भवनमा गरि ५ सय २७ बेडको ६३ वटा क्वारेन्टाइन सञ्चालित छ ।

जिल्लामा हालसम्म ४ सय ३० को आरडीटी परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको छ । जिल्लामा ५३ मुस्लिम समुदायका नागरिकको पनि आरडीटी परीक्षण गरिएको थियो । रुघाखोकी र ज्वरो देखिएपछि आइसोलसनमा भर्ना भएकासहित अन्य गरि २० जनाको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्