लेकममा विद्यालय समायोजनको विषय पेचिलो बन्दै, अभिभावक र शिक्षकहरु आन्दोलनमा

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकामा गरिएको विद्यालय समायोजनको विषय पेचिलो बन्दै गएको छ । भौगोलिक विकटलाई मध्यनजर नगरी नै विद्यालय समयोजन गरिएको भन्दै शिक्षक र अभिभावकहरुले गाउँपालिकाको चर्को आलोचना गरेका छन् । यसैबीच श्री लटिनाथ आधारभुत विद्यालय गोगुना बीराली र श्री भैरबनाथ अधारभुत विद्यालय श्रीपुर मेल्लाउका शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुले असन्तुष्टि जनाउँदै गाउँपालिकाको शिक्षा शाखा, वडा कार्यालय र इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । सोमबार ४४ जना स्थानीय अभिभावकहरुको हस्ताक्षर सहित शिक्षा शाखालाई ज्ञापन पत्र बुझाएको शिक्षक राजेन्द्र बोहराले जानकारी दिए । उनका अनुसार सोमबार नै विद्यालय व्यवस्थापन समितिको बैठक बसेर गाउँपालिकाले विद्यालयलाई पूर्ववत अवस्थामा संचालनमा नल्याएसम्म विद्यालयमा तालाबन्दी गर्ने निर्णय गरेर तालाबन्दी गरिएको छ ।

भौगोलिक विकटताका कारण वडा नं. ५ को लथिनाथ आवि गोगुना विराली र भैरबनाथ आवि श्रीपुरलाई विद्यालय समायोजनको नाममा संचालन भएका विद्यालयलाई खारेज गरेर विद्यालर्थीहरुलाई दुख दिने काम भएको अभिभावकहरुको गुनासो छ । यता गाउँपालिकाको शिक्षा शाखाले ज्ञापन पत्र बुझ्दै आगामी गाउँसभामा छलफल गर्ने आश्वासन दिएको छ शिक्षक बोहराले बताए। अभिभावकहरुले आफ्ना माग पुरा नभए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय लेकम गाउँपालिकाले पटक–पटक जनअपेक्षा विपरितका कामहरु गर्दै आएको छ । यस अघि स्थानीय पाठ्यक्रम लागु गर्दा पनि गाउँपालिकाले सार्वजनिक गरेको स्थानीय पाठ्यक्रम अनुसार प्रकाशन गरेको किताब हाम्रोे लेकममा विभिन्न त्रुटि भेटिएको थियो । सो कुरालाई लिएर स्थानीयहरुले गाउँपालिकाको चर्को आलोचना गरेपछि सो पुस्तक सच्याउन गाउँपालिका तयार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्