पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा र हिमपात, बेलुकादेखि कमजोर हुँदै जाने

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

आज राति गण्डकी प्रदेशका केही ठाउँमा असिनासहित वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशका केही ठाउँमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यस्तै, बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले बताउनुभयो ।

उहाँका अनुसार आज बेलुकादेखि पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि घट्नेछन् । आगामी दुई दिन वर्षाको गतिविधि न्यून रहने तथा त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान छ । धान काट्ने समय चलिरहेको भन्दै मौसमविद् ढकालले किसानहरूलाई मौसमको पूर्वानुमानबारे जानकारी राखेर कृषि कार्य गर्न सुझाव दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्