काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त हुनुभएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्ति भएकै दिन पत्र बुझ्नुभएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले नियुक्ति पत्र बुझिसक्नुभएको जानकारी दिनुभयो । तर, त्यसपछि तिहार र छठ पर्वका कारण लामो सार्वजनिक बिदा परेकाले उहाँ कार्यालयमा हाजिर हुन नपाउनुभएको मन्त्रालयले जनाएको छ ।
देशको शान्ति सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिनका लागि मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत स्थापना गरिएको छ ।
यसैबीच, कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।





