काठमाडौं । छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाउने गरिन्छ।
छठ पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो। पर्वको पहिलो दिन व्रतालुले स्नान गरी शुद्ध भोजन गरेर व्रतको सुरुवात गर्ने परम्परा छ। दोस्रो दिन खरना मनाइन्छ। यस दिन सखर मिसाएर बनाइएको खीर छठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गरिन्छ। त्यसपछि व्रतालुले निराहार व्रत सुरु गर्छन्।
पर्वको मुख्य दिन आज व्रतालुले दिनभर निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। त्यसपछि रातभर जाग्राम बसी भोलि कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।
केही वर्षअघिसम्म तराई–मधेशका सीमित क्षेत्रमा मनाइने छठ पर्व अहिले राष्ट्रिय पर्वका रूपमा विस्तार भएको छ। हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि श्रद्धा र भक्तिपूर्वक छठ मनाउने गरिएको छ।
छठ पर्वका अवसरमा तराई–मधेशदेखि काठमाडौं उपत्यका र अन्य विभिन्न स्थानका नदी, पोखरी तथा जलाशयलाई सजाइएको छ। व्रतालु तथा श्रद्धालुहरूको सुविधाका लागि घाटहरू सफा गरी झकिझकाउ बनाइएको छ।
सरकारले यस वर्ष छठ पर्वको अवसरमा भोलि पनि सार्वजनिक बिदा दिएको छ। सूर्यको उपासना, प्रकृतिप्रतिको सम्मान र पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामनासहित मनाइने छठ पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ।





