प्रदीपसँग स्क्रिन सेयर गर्ने इच्छा छ : रक्षा बुढाथोकी

काठमाडाैं- रक्षा बुढाथोकी फिल्म ‘पर्खी बसेँ तिमीलाई’की अभिनेत्री हुन् । ‘लाखे’बाट अभिनयमा डेब्यु गरेकी रक्षाको यो दोस्रो फिल्म हो । ‘लिड एक्ट्रेस’को भूमिकामा दीपक श्रेष्ठ निर्देशित फिल्मलाई पहिलो भन्दा अन्यथा हुँदैन । सानैदेखि टिभीमा छाउने रहरले अभिनयमा होमिएकी रक्षा अहिले फिल्मको प्रचारप्रसारमा छिन् । पुस २७ गते रिलिज हुने यो रोमान्टिक-सोसल ड्रामाको बुकिङ समेत खुलिसकेको छ । यो फिल्ममा उनी आभा नामकी लभरगर्लको भूमिकामा छिन् ।

‘पर्खी बसेँ तिमिलाई’ प्रदर्शनमा आउँदै गर्दा एक्साइटेड महसुश गरिरहेकी रक्षाले सञ्चारमाध्यमसँगै कलेजमा समेत प्रचारप्रसार गरिरहेकी छिन् । ‘आभा भनेको यस्तो क्यारेक्टर हो, जसले एउटा मान्छेलाई एकदमै माया गर्छ । लोयल हुन्छ । आभाको लोयल स्वभाव र इमान्दारिता मसँग मिल्छ’,रक्षाले भनिन्,‘फिल्ममा मैले गरेको भूमिकाको विषयमा दर्शकको प्रतिक्रिया के कस्तो आउला भनेर कौतुहलता बढेको छ । एक किसिमले डर पनि लागेको छ ।’

यो फिल्मबाट मैले अभिनयका धेरै कुरा सिक्ने, अनुभव गर्ने अवसर पाएको बताउछिन् । फिल्ममा उनी उच्च घरानकी एउटा छोरीको भूमिका छिन् । जसलाई अभिभावकले एकदमै धेरै माया गर्नुहुन्छ । तर उनले एउटा साधारण पठाओ चालकलाई प्रेम गर्छिन् । उनी र पठाओ चालकको प्रेमको वरिपरि पुरै फिल्म घुमेको छ ।

उनका अनुसार कथावस्तु समाज र मान्छेसँग निकट छ । ‘एकदमै सान्दर्भिक कथा । यो हामीले देखेको वा भोगेको कथा हो, जसले गर्दा आफूमा ल्याउन र जोड्न गाह्रो भएन’, उनले भनिन् । आफूले निर्वाह गरेको आभा र आफूबीच धेरै कुरामा समानता रहेको रक्षाको बुझाइ छ । ‘यदि मेरो पुनर्जन्म भए आभाकै रोलमा जन्मिन चाहन्छु’, उनी भन्छिन्,‘जिन्दगीको वास्तविक घटनाले आभा बन्न मद्दत मिल्यो । आभाले जे फेस गरेको छ, रक्षाले पनि त्यही फेस गरेकाले सजिलो भएको हो ।’

लिड क्यारेक्टरमा हुँदा एक किसिमको प्रेसर उनले फिल गरेकी छिन् । तर उनले प्रेसरलाई च्यालेन्जको रूपमा हेरेकी छिन् । ‘फिल्म निर्माणको प्रोसेस के हो, कसरी बन्छ भन्ने थाहा नहुँदासम्म सजिलै होला भनने लाग्थ्यो । बाहिरबाट हेर्दा त घुम्न पाइन्छ, रमाउन पाइन्छ भन्ने लाग्यो । जब फिल्ममा होमिएपछि खान, बस्न, घरमा पुग्न र सुत्न कुनै पनि समयमा हुँदो रहेनछ । चिसो मौसममा हल्का, गर्मीमा बाक्लो पहिरन लगाउनुपर्ने रहेछ । अभिनय सोचे जस्तो सजिलो छैन, मेहनत गर्नु पर्छ र गरिरहेकी छु’,रक्षाले भनिन् ।

उनलाई अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गर्न मन रहेछ । अभिनेत्रीद्वय सुरक्षा पन्त, मेनुका प्रधानसँग पनि उनी प्रेरित हुन्छिन् । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ । यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्